काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयन प्राधिकरणलाई व्यवस्थित गर्न ऐन–कानुन बनाउन लागेको बताएका छन् । मन्त्री पाण्डेले नागरिक उड्डयनसम्बन्धी ऐन बनाउन खोज्दा कोही पनि सशंकित हुन नपर्ने बताएका छन् ।
आज उनले नेपाल नागरिक उड्डयन प्राधिकरणको २६औँ वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नागरिक उड्डयन क्षेत्रलाई व्यवस्थित गर्न र नेपालको हवाई क्षेत्रलाई विश्वसनीय बनाउन आवश्यक ऐन–कानुन बनाउन लागेको बताएका हुन् ।
नागरिक उड्डयन प्राधिकरणलाई व्यवस्थापन गर्न समिति गठन गरिएको त्यसमा क्यानका कर्मचारीहरुको पनि सुझाव समावेश गरिने बताएका छन् ।
उक्त कार्यक्रमा बोल्दै मन्त्री पाण्डेले क्यान निरन्तर माथि उठ्दै आफ्नो दायित्व निर्वाह गर्न सकोस भन्ने सुझाव दिएका थिए । उनले नेपालको हवाई क्षेत्र नेपालको भौगोलिक अवस्था अनुरुप स्कोप सदावहार रहने बताउदै जति सडक यातायातमा चिल्ला सडक भएपनि हवाई सेवाको औचित्य तथा महत्व सधै रहने बताएका छन् ।
ऐनअनुसार बनेका निकायलाई आत्मनिर्भर भएर त्यस क्षेत्रमा सबल बनाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए । मन्त्री पाण्डेले विमानस्थलका विषयमा आएका सुझाव, गुनासो लगायत सम्बोधन गर्ने काम प्राधिकरणको रहेको भन्दै सबै अभिभारा पूरा गर्नका लागि सक्षम हुनुपर्ने बताए ।
विकट स्थानमा नियमित उडानका लागि निगमको विमान पर्याप्त नरहेकाले त्यस विषयमा पनि मन्त्रालयले आवश्यक योजना बनाइरहेको उनले बताए ।
अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरूसँगको सहकार्य, नियमन र नेपालको कानुनअनुसार चल्ने वातावरण बनाउने कोसिस छ, उनले भने ।
