२०८३ श्रावण १२ गते मंगलवार

images

युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, युद्धमा कस्तो असर पर्ला

युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, युद्धमा कस्तो असर पर्ला

सहर्ष न्युज
सोमवार, मंसिर ३ २०८१
सहर्ष न्युज
सोमवार, मंसिर ३ २०८१
  • काठमाडौं । संयुक्त राज्य अमेरिका राष्ट्रपति जो बाइडनले अमेरिकाले उपलब्ध गराएका लामो दूरीका क्षेप्यास्त्रहरू रुसमा प्रहार गर्न दिने अनुमति युक्रेनलाई प्रदान गरेका छन्।

    आगामी ज्यानुअरी महिनामा अमेरिकाको सत्ताबाट बाहिरिन लागेका बाइडनको प्रशासनले अमेरिकाले यसअघि युक्रेनलाई उपलब्ध गराएको आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) प्रयोग गर्न किएभलाई अनुमति दिएको बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले जनाएको छ।

    लामो दूरीमा मार हान्न सक्ने क्षमता भएका अस्त्रहरू युक्रेनलाई दिन अमेरिकी सेना अनिच्छुक थियो। यद्यपि बाइडनले ती क्षेप्यास्त्र युक्रेनलाई उपलब्ध गराउन गोप्य निर्देशन दिएका विवरणहरू यसअघि सार्वजनिक भएका थिए।

    तर यस्ता अस्त्रको प्रयोगले युद्ध चर्किने सम्भावनालाई दृष्टिगत गर्दै वाशिङ्टनले यसअघि प्रयोग नगर्न भनेको थियो।

    ट्रम्पले युक्रेनलाई अमेरिकी सैन्य सहयोग उपलब्ध नगराउने अनुमान गरिएको छ।

    तर उनले राष्ट्रपतिको कार्यभार सम्हाल्नुभन्दा दुई महिनाअघि बाइडन प्रशासनले आफ्नो नीति उल्ट्याउँदै अस्त्र प्रयोगको अनुमति दिएको हो। यसलाई अमेरिकी नीतिमा ठूलो परिवर्तन मानिएको छ।

    अमेरिकाले किन क्षेप्यास्त्र प्रहार गर्न पाउने अनुमति दियो

    युक्रेनले रुसी नियन्त्रणमा पुगेका युक्रेनी भूभागमा रहेका रुसी सैन्य संरचनामा आक्रमण गर्न मात्रै एटीएसीएमएस प्रयोग गर्दै आएको थियो। क्राइमियास्थित रुसी वायुसेनाको शिविर र जापोरिज्या क्षेत्रमा आक्रमण गर्न ती क्षेप्यास्त्रहरू प्रहार भएका थिए

    युक्रेनलाई उपलब्ध गराइएका सबैभन्दा शक्तिशाली क्षेप्यास्त्रमा लकहीड मार्टिन बलिस्टिक मिसाइल पनि पर्छ। यो अमेरिकी बलिस्टिक क्षेप्यास्त्र ३०० किलोमिटर टाढाको दूरीसम्म प्रहार गर्न सक्ने बताइएको छ।

    युक्रेनले यस्ता क्षेप्यास्त्रको प्रयोगका लागि अनुमति नदिनु "एउटा हात पछाडि बाँधेर युद्ध लड्न पठाउनु जस्तै" भएको बताएको थियो।

    हालै उत्तर कोरियाली सैनिकहरू रुसी फौजलाई सघाउन कुर्स्क क्षेत्रमा पुगेको विवरण आएपछि अमेरिकाले आफ्नो नीतिमा परिवर्तन गरेको बताइएको छ।

    यसको प्रयोगबारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले केही बताएका छैनन्।

    तर उनले आइतवार “शब्दमा बोलेर प्रहार गरिने नभई क्षेप्यास्त्र आफैँले बोल्ने” बताएका छन्।

    यी क्षेप्यास्त्रको प्रभाव कस्तो होला

    अब युक्रेनले रुसी भूभागभित्र पनि प्रहार गर्न सक्छ। सम्भवतः युक्रेनी सेनाले आफ्नो नियन्त्रणमा राखेको रुसको १,००० वर्ग किलोमिटर क्षेत्रनजिकै ती क्षेप्यास्त्रहरू प्रयोग हुन सक्छन्।

    उत्तर कोरियाली र रुसी सैनिकहरूले आफ्नो भूभाग फिर्ता लिन केही दिनभित्रै सुरु गर्ने ठानिएको प्रत्याक्रमणमा आफ्नो रक्षाका लागि युक्रेनले एटीएसीएमएस प्रयोग गर्न सक्ने अमेरिकी अधिकारीहरूले बताएका छन्।

    यो अस्त्रको बलमा युक्रेनले कुर्स्क क्षेत्रमा रहेका रुसी सैनिक, तिनका बन्दोबस्तीका सामग्री र पूर्वाधार तथा अस्त्रहरूमा प्रहार गर्न सक्छ।

    एटीएसीएमएस क्षेप्यास्त्र युद्धको पासा पल्टाउन पर्याप्त नहुन सक्छ। रुसका कतिपय महत्त्वपूर्ण सैन्य उपकरणहरू यो निर्णयको पूर्वानुमान गर्दै यसअघि नै रुसका अझै भित्री क्षेत्रभित्र सारिएका छन्।

    तर देशको पूर्वी भूभागमा रुसी फौज अघि बढिरहेको र मनोबल कमजोर भएको अवस्थामा यस्ता अस्त्रले युक्रेनलाई केही फाइदा पुर्‍याउन सक्छ।

    अमेरिकाले यसको अनुमति दिएको अर्को प्रभाव पनि पर्न सक्छ। अब यूके र फ्रान्सले पनि युक्रेनलाई 'स्टोर्म श्याडो' नामक क्षेप्यास्त्र रुसी भूभागभित्र प्रहार गर्ने अनुमति दिन सक्छन्।

    यो क्षेप्यास्त्र पनि अमेरिकी एटीएसीएमएससँग धेरै मिल्दोजुल्दो छ। 'स्टोर्म श्याडो' फ्रान्स र ब्रिटेनले संयुक्त रूपमा बनाएको लामो दूरीमा प्रहार गर्ने क्षमताको 'क्रूज मिसाइल' हो।

    के युद्ध अझै चर्किएला

    युद्ध अझै चर्किने डरले बाइडन प्रशासनले यसअघि महिनौँसम्म पनि युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोग गरेर रुसभित्र आक्रमण गर्ने अनुमति दिएको थिएन।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो भूभागभित्र पश्चिमा देशमा बनेका हतियार प्रयोग नगर्न चेतावनी दिएका थिए। पश्चिमा हतियारको प्रयोगलाई रुसले युक्रेन युद्धमा नेटोको संलग्नताकै रूपमा हेर्ने बताएको छ।

    रुसले आधुनिक युद्धपोत र लडाकु विमानहरू युक्रेनलाई उपलब्ध गराउने कुरालाई रुस र नेटोबीचको युद्धका रूपमा हेर्ने चेतावनी दिँदै आएको छ।

    नेटोका लागि एक भूतपूर्व अमेरिकी राजदूत कर्ट भोल्करले यस्ता हतियारको प्रयोग गर्न अनुमति दिने निर्णय सार्वजनिक गर्नु अमेरिकाको गल्ती भएको बताएका छन्।

    डोनल्ड ट्रम्पको प्रतिक्रिया कस्तो होला

    अहिले जो बाइडन कामचलाउ राष्ट्रपति बनिसकेका छन्। उनले ट्रम्पलाई सत्ता हस्तान्तरण गर्न दुई महिना मात्रै बाँकी रहँदा भएको निर्णयलाई ट्रम्पले निरन्तरता दिन्छन् वा दिँदैनन् भन्ने स्पष्ट छैन।

    ट्रम्पका केही निकट सहयोगीहरूले यो निर्णयको आलोचना गरिसकेका छन्।

    ट्रम्पका छोरा डोनल्ड ट्रम्प जूनिअरले सामाजिक सञ्जालमा लेखेका छन्, "मेरा बुवाले शान्ति स्थापना गर्नु र मानिसहरूको ज्यान जोगाउनुअघि नै सैन्य औद्योगिक भवनले तेस्रो विश्वयुद्ध सुरु गराउला जस्तो देखिँदै छ।"

    ट्रम्पले युक्रेन युद्धबारे आफूले लिने नीतिबारे केही बोलेका छैनन्। उनले आफू पदमा पुगेको एक दिनमै युद्ध अन्त्य गर्ने बताउँदै आए पनि त्यो कसरी गर्छन् भन्ने खुलाएका छैनन्।

    डेमोक्र्याटिक नेताहरूले उनीमाथि पुटिनलाई सहयोग गरेको आरोप लगाएका छन्। ट्रम्पले बारम्बार पुटिनको प्रशंसा गरेका छन्।

    उपराष्ट्रपतिमा निर्वाचित जेडी भान्ससहित ट्रम्पका धेरै शीर्षस्थ अधिकारीहरूले अमेरिकाले युक्रेनलाई थप सैन्य सहायता उपलब्ध गराउनु नहुने बताएका छन्।

    ट्रम्प प्रशासनमा अरू अधिकारीहरूको दृष्टिकोण भिन्न छ। राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले अमेरिकाले युक्रेनलाई दिने हतियारको आपूर्तिलाई तीव्रता दिएर रुसलाई वार्ता गर्न बाध्य बनाउनुपर्ने तर्क गरेका छन्।

    ट्रम्प प्रशासन कुन दिशामा जान्छ भन्ने स्पष्ट छैन। तर युक्रेनमा धेरैले ट्रम्पले अस्त्रहरूको आपूर्ति रोक्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend