सहर्ष न्युज, काठमाडौं । खुत्रुके मिडिया प्रालिको पहिलो प्रस्तुति ‘माझीको छोरी’ म्युजिक भिडियो सार्वजानिक भएको छ । खुुत्रुके मिडिया प्रालिद्वारा सञ्चालित डिजिटल अनलाइन न्युज पोर्टल ‘सहर्ष न्युज डट्कम’को स्वागत तथा औपचारिक उद्घाटनकै दिन उक्त ‘माझीको छोरी’ नामक म्युजिक भिडियो सार्वजानिक गरिएको हो ।
बरिष्ठ हास्य कलाकार तथा सञ्चारकर्मी विनोद केसीको लेखन, निर्देशन तथा संगित रहेको उक्त म्युजिक भिडियोमा गायिका मञ्जु पौडेलको स्वर रहेको छ । त्यसैगरी उक्त भिडियोमा म्युजिक एरेन्जर सुदिप सागर, रेकर्डिस्ट कृष्ण बाजुराली, कोरियोग्राफर, सिनेमाटोग्राफर राजेश घिमिरे, असिस्टेन्ट कोरियोग्राफर नवराज भट्टराई, लाइटमा शिब धिमाल, भोज तामाङ र मेकअपमा यमुना पाण्डे रहेको यो म्युजिक भिडियोका सम्पादन अमर शाक्यले गर्नुभएको छ । म्युजिक भिडियोमा सुदिन मोक्तान र सुष्मा सापकोटाको अभिनय रहेको छ ।

उक्त म्युजिक भिडियो सार्वजानिक गरेसँगै युट्युबमा समेत अपलोड गरिएको थियो ।
उक्त स्वागत तथा औपचारिक उद्घाटन कार्यक्रममा खुत्रुके मिडिया प्रालिका प्रमुख कार्यकारी निर्देशक विनोद केसीले खुत्रुके मिडिया र सहर्ष न्युज स्थापनाको उद्देश्य, लक्ष्य तथा भावि योजनाको वारेमा कार्यक्रममा सहभागीहरुलाई जानकारी दिनुभएको थियो ।
सो कार्यक्रममा खुत्रुके मिडिया प्रालिका पदाधिकारीको परिचय गराइएको थियो भने बरिष्ठ हास्य कलाकार शिवहरी पौडेल, पत्रकार महासंघका पूर्वउपाध्यक्ष तथा बरिष्ठ सञ्चारकर्मी हाल नेपाल टेलिभिजनको समाचारवाचिका अनिता विन्दु, बरिष्ठ सञ्चारकर्मी तथा सञ्चारिका समुहकी पूर्वअध्यक्ष निर्मला शर्माले पत्रकारिता र मिडियाका विविध पक्षको बारेमा चर्चा गरेका थिए ।
थुप्रै अनलाइन न्युज पोर्टल स्थापना भएको चुनौतिपूर्ण समयमा खुलेको सहर्ष न्युजलाई सुझाबहरु दिंदै आफ्नो उद्देश्य र लक्ष्य पुरा गर्न सफलता मिलोस् भन्दै शुभकामना समेत दिनुभएको थियो ।
उक्त कार्यक्रममा उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवाली, सिचाई विभागका महानिर्देशक संजीव बराल, काठमाडौं महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेलगायत विशिष्ट व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
विशिष्ठ व्यक्तिहरु समेत उपस्थित भएर कार्यक्रमको शोभा बढाइदिनुभएको भन्दै खुत्रुके मिडिया प्रालिका अध्यक्ष ईन्जिनियर प्रदिप थापाले सहभागी सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा प्राप्त सबै सुझाब अनुसार नै मिडिया सञ्चालन गर्ने उहाँले बताउनु भयो । ‘जे देख्छ, त्यही लेख्छ’ हाम्रो मिडियाको नारा पनि भएकाले देखेको कुरा नै लेखेर पाठकलाई पढाउने प्रतिबद्धता जनाउनुभयो ।
थुप्रै विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन गायिका मञ्जु पौडलले गर्नु भएको थियो ।
खुत्रुके मिडियाका कोषाध्यक्ष समेत रहेका प्रमुख कार्यकारी निर्देशक विनोद केसीले के–के भने (मन्तव्यको अंश जस्ताको तस्तै)
खुत्रुके मिडिया प्रालिद्वारा सञ्चालित सहर्ष न्युज डटकम अनलाइन न्युज पोर्टल उद्घाटनमा पाल्नुहुने सम्पूर्णमा सर्वप्रथम स्वागत गर्न चाहान्छु । म खुत्रुके मिडिया प्रालिको प्रमुख कार्यकारी निर्देशक विनोद केसीको तर्फवाट गरेको स्वागतलाई सहर्ष स्वीकार्नु हुन अनुरोध गर्दछु ।
विभिन्न पेशा र व्यवसायमा रहेका हामी आधा दर्जन जति उत्साहित मिल्ने मनहरुको प्रयासमा एउटा व्यवसाय सुरुआत गर्ने सोच कता–कता आइरहन्थ्यो । सोच्थ्यौं एउटा यस्तो पेशा, व्यवसाय होस् ‘हाम्रो’ जसले समाज र राष्ट्रलाई पनि केही योगदान गर्न सकोस् । यसै सोचका उपज हो ‘खुत्रुके मिडिया प्रा.लि. र त्यसैको एउटा उत्पादन हो ‘सहर्ष न्युज डटकम’ । यो क्षेत्रमा हामी नयाँ हौं । हामी नयाँ नै भएका कारण पाठकलाई यो मिडियामा केही ‘नयाँपन’ पनि दिनेछौं । तर सहर्षमा हुने नयाँपन पक्कै पनि ‘अर्गानिक’ हुनेछ । हामीलाई थाहा छ अर्गानिकपनले कसैलाई हानी गर्नेछैन् ।
हामी सुरुमा सानो आकारबाट एउटा सानो व्यवसायको रुपमा यो मिडियालाई सञ्चालन गर्न खोजेका छौं । तथापी यसलाई ठूलो बनाउने नै हो । अहिले मिडिया कम्पनी छ पछि यो मिडिया हाउसको रुपमा विकास गरिने छ । नेपाली समाजमा मिडियालाई केहीले ‘शक्ति’का रुपमा हेर्ने गरिन्छ र, धेरै मिडियाले त ‘शक्ति’लाई दुरुपयोग गरेको हामीले महशुस गरेका छौं । धेरैले त्यसो गरे भन्दैमा सहर्ष न्युज डटकमले त्यसो गर्दैन । हामी ‘जे देख्छौं, त्यही लेख्छौं’ । यो हाम्रो ‘स्लोगन’ पनि हो ।
हाम्रो भुमिका समाजलाई अग्रगतिमा लैजाने दिशामा केन्द्रित हुनेछ । आफ्ना सहयोगी शुभचिन्तकलाई हातमा हात, काँधमा काँध मिलाएर अघि बढ्छ । मिडिया राज्यले प्राथमिकतामा राखेको चौथो अंगको अभिभावक मात्र नभई एउटा व्यवसाय पनि हो । त्यस्तै समाज सेवा गर्ने अर्को माध्यम पनि हो । यस मिडियाले पनि सामाजिक क्षेत्रमा थुप्रै काम गर्ने लक्ष्य राखेको छ । आफ्नो व्यवसायको जिवन्तताका साथै समाज सुधारको चित्र पनि यसले प्रस्तुत गरिरहनेछ ।
सहर्ष न्युज डटकम कस्तो न्युज पोर्टल हो ?
१. अनलाइनमा आधारित ‘न्युज पोर्टल’ हो ।
२. इन्टरनेटको माध्यमबाट मात्रै चल्छ ।
३. दर्ता गर्नुपर्ने सबै सरकारी निकायमा विधिवत् दर्ता भइसकेको छ ।
४. एकाइशौं शताव्दी सुहाउँदो छ ।
५. देश विदेशका पाठकले छोटो र सानो प्रयासका बीच सजिलै पहुँच राख्न सक्छन् ।
६. यो अर्थ–राजनीतिक अनलाइन न्युज पोर्टल हो ।
७. समग्रमा भन्ने हो भने सहर्ष न्युजले नेपालबाट प्रकाशित हुने एउटा राष्ट्रिय दैनिकको भन्दा बढी क्षमता राख्छ ।
८. यसले विशेषतः सिंचाई क्षेत्रलाई प्राथमिकता दिएको छ ।
९. सिंचाईका अतिरिक्त बढी आर्थिक र केही राजनीतिक समाचार प्रवाह गर्ने गरी तयारी पारिएको छ ।
१०. यस न्युज पोर्टलमा विभिन्न क्षेत्रसमेत गरी २६ वटा विभिन्न ‘क्याटोगोरी’ रहेका छन् ।
११. क्याटोगोरीलाई समयसापेक्ष तलमाथि तथा थपघट गर्न सकिने छ ।
१२. यो वेबसाइट भित्र छिरे पछि समाचारका अतिरिक्त तापक्रम, मौसम सम्बन्धि जानकारी, सुनचाँदीको भर्खरैको मूल्य, शेयर कारोबारको ‘लाइभ’, विदेशी मुद्राको दररेट आदीको ताजा जानकारी प्राप्त गर्न सकिने ।
हामी मिडियाको क्षेत्रमा केही नयाँ छौं । तर, पनि हामी केही फरक दिने प्रयास गर्नेछौं । यो मिडियाले देखेको कुरा लेख्ने र लेखेको कुरा धेरैलाई पढाउने हाम्रो लक्ष्य रहेको छ ।
बार्षिकोत्सवको अवसर पारेर पुस्तकका रुपमा ‘सहर्ष स्मारिका’ पनि प्रकाशित गर्ने लक्ष्य राखेका छौं । त्यसका लागि सबै क्षेत्रसँग सहकार्यको अपेक्षा पनि गर्दछौं ।
अन्त्यमा छोटो सल्लाहको बीचमै यो मिडिया जन्माउन सफल भइयो । यस कार्यमा साथ दिनुहुने यस कम्पनीका अध्यक्ष आदरणीय दाई प्रदीप थापा, सञ्चालकज्यूहरु तथा सेयरधनीज्यूहरु, शुभचिन्तकहरु प्रति म आभार व्यक्त गर्न चाहान्छु । सधैं यसरी नै माया दिनु होला । साथ सहयोग र हौसला प्रदान गर्नुहोला । नियमित सहर्ष न्युज खोलेर हेरिदिनु होला । अरुलाई पनि हेर्न र पढ्न भनिदिनु होला ।
यहाँहरुको उपस्थिति मेरो लागि सदैब अविस्मरणीय क्षण रहनुका साथै यहाँहरुको साथ, सहयोग र सद्भावका लागि खुत्रुके मिडिया परिवार सदैव आभारी रहने छ । धन्यवाद !
जय खुत्रुके मिडिया ! जय सहर्ष न्युज !! जय हाम्रो एकता !!!
