काठमाडौं । बागलुङ जिल्लाका ७७ वटा खानेपानीका मुहानमा दिसाबाट सर्ने कोलिफर्म जीवाणु (Coliform) फेला परेको छ। चालु आर्थिक वर्षमा प्रदेश जनस्वास्थ्य कार्यालयले परीक्षण गरेका ३६९ वटा खानेपानीका नमुनामध्ये ७७ नमुनामा कोलिफर्म भेटिएको हो।
गत आर्थिक वर्षको तुलनामा कोलिफर्म देखिने दर घटेको भए पनि समस्या पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०८१/८२ मा ३४१ नमुना परीक्षण गर्दा १२५ वटा नमुनामा कोलिफर्म भेटिएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा २०८ नमुना परीक्षणमध्ये ७३ स्थानको खानेपानीमा कोलिफर्म पुष्टि भएको थियो।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माका अनुसार कोलिफर्मको संख्या घट्दै गए पनि यसबाट हुने पानीजन्य रोगको जोखिम अझै उस्तै रहेको छ।
"कोलिफर्म भेटिएका स्थानका खानेपानी उपभोक्ता संस्था, वडा कार्यालय र स्थानीय तहलाई जानकारी गराएर सरसफाइ तथा पानी शुद्धीकरणका कार्यक्रम सञ्चालन गरेका छौं," शर्माले भन्नुभयो। उहाँका अनुसार मुहान तथा आयोजनाको सरसफाइ, पानी शुद्धीकरणका उपाय अपनाउने र घर–घरमा पानी उमालेर मात्र पिउन आग्रह गरिएको छ।
कुन पालिकामा कति भेटियो ?
प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्ली आचार्यका अनुसार चालु आर्थिक वर्षमा विभिन्न स्थानीय तहबाट संकलित नमुनामध्ये:
- जैमिनी नगरपालिका: १३८ नमुनामध्ये २७ मा कोलिफर्म
- गलकोट नगरपालिका: ९६ नमुनामध्ये ३८ मा
- बागलुङ नगरपालिका: ३६ नमुनामध्ये ५ मा
- ढोरपाटन नगरपालिका: ६ नमुनामध्ये १ मा
- बडिगाड गाउँपालिका: २१ नमुनामध्ये ३ मा
- तमानखोला गाउँपालिका: २२ नमुनामध्ये २ मा
- बरेङ गाउँपालिका: ८ नमुनामध्ये १ मा
यता, काठेखोला गाउँपालिकाका ९ तथा निसीखोला गाउँपालिकाका ३३ वटा खानेपानीका मुहान र आयोजनाको पानी परीक्षण गर्दा भने कुनै पनि नमुनामा कोलिफर्म भेटिएको छैन।
म्याग्दीका नमुनामा पनि कोलिफर्म
चालु आर्थिक वर्षमै जनस्वास्थ्य कार्यालयले म्याग्दी जिल्लाका तीन स्थानीय तहका ६७४ वटा खानेपानीका नमुना परीक्षण गरेको थियो। परीक्षणका क्रममा:
- मंगला गाउँपालिका: १० नमुनामा
- मालिका गाउँपालिका: ३ नमुनामा
- धवलागिरि गाउँपालिका: १ नमुनामा
कोलिफर्म जीवाणु फेला परेको कार्यालयले जनाएको छ।
किन खतरनाक छ कोलिफर्म ?
ल्याब टेक्निसियन निरीक्षक डिल्ली आचार्यका अनुसार मानव वा जनावरको दिसा तथा अन्य फोहोरका कारण खानेपानीमा कोलिफर्म जीवाणु मिसिने गर्छ। यस्तो पानी सेवन गर्दा झाडापखाला, हैजा, टाइफाइड, जन्डिसलगायत विभिन्न पानीजन्य रोग लाग्ने जोखिम बढ्ने भएकाले पानी शुद्धीकरण गरेर वा उमालेर मात्र पिउन उहाँले सुझाव दिनुभयो।
डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले खानेपानी आयोजनामा ट्रिटमेन्ट प्लान्ट निर्माणको काम सुरु भए पनि कोलिफर्मबारे जनचेतना अझै पर्याप्त हुन नसकेको बताउनुभयो। उहाँका अनुसार जिल्ला खानेपानी गुणस्तर निगरानी समितिले पानी शुद्धीकरण र सुरक्षित खानेपानीबारे जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।
