काठमाडौं : नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले करिब १ अर्ब ८१ करोड रुपैयाँ (१ करोड २० लाख अमेरिकी डलर) बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ।
यसका लागि कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र नेपाल सरकारअन्तर्गत कृषि, वन तथा वातावरण मन्त्रालयबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा कोइका नेपाल कार्यालयका कन्ट्री डाइरेक्टर मुहेअन कोङ र मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसीले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार सन् २०२६ देखि २०३१ सम्म सञ्चालन हुने ६ वर्षे परियोजनामार्फत तराई क्षेत्रमा धान उत्पादन वृद्धि, जलवायु अनुकूल कृषि प्रविधिको विस्तार तथा खाद्य सुरक्षा सुदृढीकरणका लागि सहयोग उपलब्ध गराइनेछ।
यो परियोजना नेपालको कृषि क्षेत्रमा हाल सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय सहयोग कार्यक्रममध्ये सबैभन्दा ठूलो मानिएको छ। साथै, नेपालमा कोइकाले सञ्चालन गर्ने हालसम्मकै सबैभन्दा ठूलो द्विपक्षीय परियोजना पनि यही हुनेछ।

परियोजना लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ र कपिलवस्तु तथा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा कार्यान्वयन गरिनेछ।
आयोजनाले जलवायुमैत्री कृषि प्रविधिको प्रवर्द्धन, गुणस्तरीय धानको बीउ प्रणाली सुदृढीकरण, बाली कटानीपछिको व्यवस्थापन सुधार तथा किसान र कृषि उद्यमीका लागि बजार पहुँच विस्तारमा जोड दिनेछ। यसमार्फत धानको उत्पादकत्व वृद्धि गर्दै खाद्य सुरक्षालाई मजबुत बनाउने लक्ष्य राखिएको छ।
परियोजना कार्यान्वयनमा कृषि मन्त्रालय, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारका सम्बन्धित मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) तथा अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थान (इरी) को सहकार्य रहनेछ।
हस्ताक्षर समारोहमा कृषि सचिव राजेन्द्र मिश्रले परियोजनाले नेपालको धान मूल्य शृंखला सुदृढ गर्ने, किसानको आम्दानी वृद्धि गर्ने तथा हरित, उत्थानशील र समावेशी विकासलाई टेवा पुर्याउने विश्वास व्यक्त गरे।
त्यसैगरी कोइकाका कन्ट्री डाइरेक्टर मुहेअन कोङले कृषि उत्पादकत्व वृद्धि, जलवायु उत्थानशीलता र ग्रामीण जीवनस्तर सुधारका लागि नेपाल–कोरिया सहकार्यको महत्वपूर्ण उदाहरणका रूपमा यो परियोजनालाई प्रस्तुत गरे।
सहसचिव डा. हरिबहादुर केसीले कृषि क्षेत्रमा कोइकाको निरन्तर सहयोगको प्रशंसा गर्दै कोरियाको कृषि प्रविधि र अनुभवबाट नेपालले ठूलो लाभ लिन सक्ने बताए।
कोइकाले हाल बर्दियामा एकीकृत ग्रामीण विकास आयोजना तथा लुम्बिनी प्रदेशमा फलफूल तथा तरकारी मूल्य शृंखला विकास परियोजना पनि सञ्चालन गरिरहेको छ। यी तीनवटै कृषि परियोजनाबीच समन्वय गर्दै अधिकतम प्रतिफल हासिल गर्ने लक्ष्य लिइएको जनाइएको छ।
