काठमाडौं । फुटबलको सबैभन्दा ठूलो महाकुम्भ फिफा विश्वकप २०२६ आज (जुन १२) देखि संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा सुरु हुँदैछ। ९६ वर्षको विश्वकप इतिहासमा पहिलोपटक तीन राष्ट्रले संयुक्त रूपमा आयोजना गर्न लागेको प्रतियोगिता यसपटक धेरै हिसाबले ऐतिहासिक बनेको छ।
४८ राष्ट्रको सहभागिता रहेको यो विश्वकप ३९ दिनसम्म चल्नेछ। कुल १०४ खेल खेलिने प्रतियोगिता जुलाई १९ मा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फाइनलसँगै सम्पन्न हुनेछ।
विश्वकपको उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ। मेक्सिको सिटीस्थित ऐतिहासिक एज्टेका स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ। उद्घाटन समारोह मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा विशेष कार्यक्रमका साथ आयोजना गरिनेछ।
विश्वकपको नयाँ अध्याय
सन् १९३० मा उरुग्वेमा १३ राष्ट्रबाट सुरु भएको विश्वकप यात्रा अहिले ४८ टोलीसम्म विस्तार भएको छ। यसअघि सन् १९९८ देखि लगातार सात संस्करणसम्म ३२ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए।
यस संस्करणमा १६ आयोजक शहर प्रयोग गरिएका छन् भने पहिलोपटक तीन देशले संयुक्त रूपमा विश्वकप आयोजना गर्दैछन्। मेक्सिकोले ‘पापेल पिकाडो’ कला, क्यानाडाले ‘सांस्कृतिक मोजाइक’ र अमेरिकाले आधुनिक प्रविधि तथा दृश्य प्रभावमार्फत आफ्नो सांस्कृतिक पहिचान प्रस्तुत गर्नेछन्।
उद्घाटन समारोहमा विश्व चर्चित कलाकार
मेक्सिको सिटीमा हुने उद्घाटन समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइला, अलेजान्द्रो फर्नान्डेज, बेलिन्डा लगायतका कलाकारहरूको प्रस्तुति रहने अपेक्षा गरिएको छ।
यस्तै टोरन्टोमा अलानिस मोरिसेट, माइकल बुब्ले, जेसी रेयेज तथा नोरा फतेही सहभागी हुन सक्ने बताइएको छ। लस एन्जलसमा हुने समारोहमा केटी पेरी, लिसा, रेमा, अनिट्टा र फ्युचरजस्ता अन्तर्राष्ट्रिय कलाकारले प्रस्तुति दिने सम्भावना छ।

घरेलु समर्थकमाझ मेक्सिकोको ठूलो आशा
चार दशकपछि घरेलु भूमिमा विश्वकप आयोजना गर्न लागेको मेक्सिको यसपटक इतिहास रच्ने लक्ष्यमा छ। सन् १९७० र १९८६ मा आयोजना गर्दा क्वार्टरफाइनलसम्म पुगेको मेक्सिको यसपटक त्यो उपलब्धिभन्दा माथि पुग्न चाहन्छ।
प्रशिक्षक हाभियर अग्विरेको नेतृत्वमा रहेको टोलीमा १७ वर्षीय गिल्बर्टो मोरामाथि विशेष नजर रहनेछ। उनी मेक्सिको राष्ट्रिय टोलीबाट खेल्ने इतिहासकै सबैभन्दा कम उमेरका खेलाडी हुन्।
अनुभवी फरवार्ड राउल जिमेनेज, सान्टियागो जिमेनेज, एलेक्सिस भेगा र जुलियन क्विनोनेस मेक्सिकोका मुख्य हतियार मानिएका छन्।
१६ वर्षपछि विश्वकपमा दक्षिण अफ्रिकाको पुनरागमन
दक्षिण अफ्रिका १६ वर्षपछि पुनः विश्वकपमा फर्किएको हो। सन् २०१० मा आफ्नै भूमिमा विश्वकप आयोजना गरेपछि टोली पहिलोपटक विश्वकप खेल्दैछ।
अफ्रिकी छनोटमा नाइजेरियालाई पछि पार्दै विश्वकपमा स्थान बनाएको दक्षिण अफ्रिकाको लक्ष्य पहिलोपटक नकआउट चरण पुग्नु रहेको छ।
बेल्जियन प्रशिक्षक ह्युगो ब्रुसको नेतृत्वमा रहेको टोलीका कप्तान र गोलकिपर रोन्वेन विलियम्स, स्ट्राइकर लाइल फोस्टर तथा थेबोहो मोकोइना टोलीका प्रमुख खेलाडी हुन्।
मेसी–रोनाल्डोको सम्भावित अन्तिम विश्वकप
यस विश्वकपको अर्को ठूलो आकर्षण लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र नेइमार हुनेछन्। करिब दुई दशकदेखि विश्व फुटबलमा प्रभुत्व जमाएका मेसी र रोनाल्डोका लागि यो अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ।
त्यसैले विश्वभरका फुटबल समर्थकहरू यी महान् खेलाडीहरूको जादुमयी प्रदर्शन हेर्न उत्साहित छन्।
फुटबल इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा हेरिएको फिफा विश्वकप २०२६ ले विश्व फुटबलको नयाँ युगको सुरुआत गर्ने अपेक्षा गरिएको छ।
