वैशाखमा मात्रै २ खर्ब ५७ अर्ब रुपैयाँ भित्रियो, अमेरिकी डलरमा रेमिट्यान्स ३३ प्रतिशतले वृद्धि
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालमा भित्रिएको विप्रेषण (रेमिट्यान्स) उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा नेपाली श्रमिकहरूले विदेशबाट रु १९ खर्ब १६ अर्ब ९० करोड बराबरको रेमिट्यान्स पठाएका छन्।
मंगलबार सार्वजनिक गरिएको राष्ट्र बैंकको चालु आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय विवरणअनुसार रेमिट्यान्स आप्रवाह अघिल्लो वर्षको तुलनामा ४१.२ प्रतिशतले वृद्धि भएको हो। गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धि दर १३.३ प्रतिशत रहेको थियो।
तथ्याङ्कअनुसार वैशाख महिनामा मात्रै रु २ खर्ब ५७ अर्ब ४९ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको वैशाखमा भने रेमिट्यान्स आप्रवाह रु १ खर्ब ६५ अर्ब ३० करोड रहेको थियो।
अमेरिकी डलरमा पनि रेमिट्यान्स आप्रवाह उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा डलरमा रेमिट्यान्स ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो वृद्धि दर १०.६ प्रतिशत मात्रै रहेको थियो।
रेमिट्यान्समा देखिएको उच्च वृद्धिले देशको विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन तथा समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको विश्लेषण गरिएको छ।