काठमाडौं । वासिङटन डीसीस्थित ह्वाइट हाउस नजिक शनिबार साँझ भीषण गोली हानाहान भएको छ। घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै रहेको बताइएको छ।
स्थानीय समयअनुसार एक व्यक्तिले ह्वाइट हाउस नजिकै रहेको सुरक्षा चौकीमा गोली चलाएका थिए। रिपोर्टका अनुसार आक्रमणकारीले अमेरिकी सिक्रेट सर्भिसका अधिकारी तैनाथ रहेको चेकपोइन्टलाई निशाना बनाएका थिए। जवाफी कारबाहीमा सुरक्षाकर्मीले चलाएको गोली लागेर संदिग्ध घाइते भएका थिए। उनलाई अस्पताल पुर्याइएलगत्तै मृत घोषणा गरिएको जनाइएको छ। घटनामा एक जना बटुवा पनि घाइते भएका छन्।
ह्वाइट हाउसमा रहेका पत्रकारहरूले लगातार २० देखि ३० राउन्डसम्म गोली चलेको आवाज सुनेका थिए। त्यसपछि सिक्रेट सर्भिसले पत्रकारहरूलाई तत्काल प्रेस ब्रिफिङ कक्षभित्रै बस्न निर्देशन दिँदै लकडाउन गरेको थियो। केही समयसम्म कसैलाई पनि बाहिर निस्कन दिइएन।
घटनापछि एफबीआई, सिक्रेट सर्भिस तथा अन्य सुरक्षा निकायले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छन्। सुरक्षाका कारण ह्वाइट हाउस कम्प्लेक्सको नर्थ लन खाली गरिएको छ। एफबीआई निर्देशक काश पटेलले सामाजिक सञ्जालमार्फत सुरक्षा निकायहरूले घटनालाई गम्भीर रूपमा अनुसन्धान गरिरहेको बताएका छन् ।
सिक्रेट सर्भिसले सामाजिक सञ्जाल एक्समार्फत १७औं स्ट्रिट र पेन्सिल्भेनिया एभिन्यू एनडब्ल्यू क्षेत्रमा गोली चलेको पुष्टि गरेको छ। उक्त स्थान ह्वाइट हाउसबाट करिब एक ब्लक दूरीमा रहेको बताइएको छ।
एक महिनाअघि पनि भएको थियो गोलीकाण्ड
यसअघि वासिङटन डीसीमै आयोजित वार्षिक ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट डिनर’ कार्यक्रमका क्रममा पनि गोली चलेको थियो। कार्यक्रममा राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलगायत सहभागी थिए।
होटल हिल्टनको बलरूम बाहिर आक्रमणकारीले गोली चलाउँदा पाहुनाहरू त्रसित बनेका थिए। घटनापछि ट्रम्पले सिक्रेट सर्भिसको प्रशंसा गर्दै सुरक्षाकर्मीले आफ्नो ज्यान बचाएको बताएका थिए।
उक्त घटनामा संलग्न क्यालिफोर्नियाका ३१ वर्षीय कोल तोमास एलेनलाई पक्राउ गरी राष्ट्रपतिको हत्या प्रयाससम्बन्धी मुद्दा चलाइएको छ।
यसअघि जुलाई १३, २०२४ मा बटलरमा आयोजित चुनावी र्यालीका क्रममा पनि ट्रम्पमाथि घातक आक्रमण भएको थियो। त्यतिबेला टाढाबाट प्रहार गरिएको राइफलको गोली ट्रम्पको दाहिने कानमाथि लागेको थियो। घटनामा एक जनाको मृत्यु तथा दुई जना गम्भीर घाइते भएका थिए भने सुरक्षाकर्मीले आक्रमणकारीलाई घटनास्थलमै मारिदिएका थिए।
