२०८३ श्रावण १० गते आइतवार

images
  • समाचार
  • भारतीय एसओपी संशोधनपछि नेपाली चिया निर्यात...

भारतीय एसओपी संशोधनपछि नेपाली चिया निर्यात सहज हुने, अनिवार्य परीक्षण व्यवस्था खुकुलो

भारतीय एसओपी संशोधनपछि नेपाली चिया निर्यात सहज हुने, अनिवार्य परीक्षण व्यवस्था खुकुलो

सहर्ष न्युज
बिहिवार, जेठ ७ २०८३
सहर्ष न्युज
बिहिवार, जेठ ७ २०८३
  • विराटनगर । नेपालबाट भारत निर्यात हुने चियामा अवरोध सिर्जना गरेको भारतको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) अन्ततः संशोधन गरिएको छ। भारतीय वाणिज्य मन्त्रालयको निर्देशनपछि भारतीय टी बोर्डले आयातित चियामाथि लागू गरिएको अनिवार्य परीक्षण व्यवस्था खुकुलो बनाएको हो।

    भारतीय टी बोर्डले मंगलबार जारी गरेको सूचनाअनुसार भारतमा घरेलु बिक्रीका लागि भित्रिने चियालाई तत्कालका लागि अनिवार्य प्रयोगशाला परीक्षणबाट छुट दिइएको छ। यससँगै पछिल्लो दुई सातादेखि प्रभावित बनेको नेपाली चिया निर्यात पुनः सहज हुने अपेक्षा गरिएको छ।

    आदित्य पराजुली ले भारतीय पक्षले नियम संशोधन गरेपछि अब पहिलेझैं चिया निर्यात सहज हुने बताउनुभयो। उहाँका अनुसार सीमामा रोकिएका चियाका गाडी पुनः भारत पठाउन उद्योगीहरू तयारीमा जुटेका छन्।

    भारतले मे १ देखि लागू गरेको नयाँ नियमअनुसार नेपालबाट जाने हरेक चिया ‘कन्साइनमेन्ट’को नमूना संकलन गरी कोलकातास्थित प्रयोगशालामा परीक्षण गर्नुपर्ने व्यवस्था गरेको थियो। परीक्षण रिपोर्ट नआएसम्म गाडी रोक्नुपर्ने, उच्च शुल्क तिर्नुपर्ने र लामो समय कुर्नुपर्ने अवस्थाले उद्योगी, निर्यातकर्ता तथा किसानहरू समस्यामा परेका थिए।

    उद्योगीहरूका अनुसार झापाबाट पानीट्यांकी नाका हुँदै पठाइएको एउटा चियाको गाडी १४ दिनसम्म भारतीय पक्षले रोकेको थियो। चार दिनपछि मात्र नमूना संकलन गरिएको उक्त चियाको परीक्षण रिपोर्ट १० दिन बित्दासमेत नआएको गुनासो गरिएको थियो।

    नयाँ संशोधनअनुसार भारतमै बिक्री हुने चियामा अनिवार्य परीक्षण लागू नहुने भए पनि पुनः निर्यात गरिने चियामा भने परीक्षण अनिवार्य रहनेछ। साथै, टी बोर्डले आवश्यकता अनुसार ‘र्‍यान्डम’ परीक्षण गर्न सक्ने व्यवस्था भने कायम राखेको छ।

    चिया उद्यमी उदय चापागाईँ का अनुसार नेपालबाट भारत जाने अधिकांश चिया भारतीय घरेलु बजारकै लागि हुने भएकाले नयाँ निर्णयले सीमामा हुने ढिलासुस्ती घट्ने, लागत कम हुने र निर्यात प्रक्रिया पुनः सामान्य बन्नेछ।

    यसअघि भारतीय टी बोर्डका पश्चिम बंगालस्थित कर्मचारीहरूले भारतीय व्यापारीलाई नेपालबाट चिया नकिन्न चेतावनी दिएका थिए। नेपालबाट चिया आयात गरेको पाइए गोदाममै पुगेर नमूना संकलन गर्ने संकेत दिइएको भन्दै नेपाली उद्योगीहरू थप चिन्तित बनेका थिए।

    यसबीच दिल्लीस्थित नेपाली दूतावास ले भारतीय वाणिज्य मन्त्रालयसँग निरन्तर कूटनीतिक पहल गर्दै आएको थियो।

    नेपालमा हाल साना–ठूला गरी करिब १२० चिया उद्योग सञ्चालनमा छन् भने १०० भन्दा बढी साना तथा मझौला उद्यमी यस क्षेत्रमा सक्रिय छन्। चिया क्षेत्रबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५० देखि ६० हजार जनाले रोजगारी पाएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend