वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बने
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचनबाट अन्जनकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। महासङ्घको विधानअनुसार निवर्तमान वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेकाले श्रेष्ठ अध्यक्ष बनेका हुन्।
महासङ्घले जानकारी दिएअनुसार श्रेष्ठको कार्यकाल तीन वर्षको हुनेछ। यद्यपि, स्वतः अध्यक्ष बन्ने व्यवस्था आगामी कार्यकालदेखि लागू नहुने गरी विधान संशोधन भइसकेको छ।
उपाध्यक्ष निर्वाचित
महासङ्घको निर्वाचनबाट तीन उपाध्यक्ष पनि निर्वाचित भएका छन्। एसोसिएटतर्फ प्रबलजङ्ग पाण्डे विजयी भएका छन्। उनले प्रतिस्पर्धी ज्योत्सोना श्रेष्ठ सुब्बालाई पराजित गरेका हुन्।
जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घतर्फ कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन्। उक्त समूहमा उमेश डालमिया र कल्पना गैरे पनि प्रतिस्पर्धामा थिए।
वस्तुगत समूहतर्फ नरेशलाल श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्। उनले शिवप्रसाद घिमिरेलाई पराजित गरेका हुन्।
महासङ्घको विधानअनुसार महिला तथा दुई राष्ट्रियतर्फका उपाध्यक्ष चयनका लागि आवश्यक मापदण्ड भने यसपटक पूरा हुन नसकेको जनाइएको छ।
वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन हुन बाँकी
महासङ्घको वरिष्ठ उपाध्यक्ष पदका लागि भने हाल निर्वाचित सदस्यहरूबाट पूर्वपदाधिकारी प्रतिस्पर्धीबीच चयन गरिनेछ। साथै, नवनिर्वाचित सदस्यहरूमध्येबाट एक जना कोषाध्यक्ष चयन हुनेछन्।
अध्यक्ष श्रेष्ठले सात जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी रहेको महासङ्घले जनाएको छ।
विभिन्न समूहबाट सदस्यमा निर्वाचित
मंगलबार सम्पन्न निर्वाचनबाट वस्तुगत, जिल्ला–नगर, प्रदेश, एसोसिएट, द्विराष्ट्रिय तथा संस्थापक सदस्य समूहबाट कार्यसमिति सदस्यहरू निर्वाचित भएका छन्।
वस्तुगत समूहबाट सागर ढकाल, पशुपतिदेव पाण्डे, अरनिको राजभण्डारी, नानिराज घिमिरे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्रप्रसाद प्रधान, होमप्रसाद घिमिरे र सङ्घर्ष विष्ट विजयी भएका छन्।
चार उम्मेदवारले समान मत पाएपछि कार्यकाल विभाजनको सहमति भएको छ। जसअनुसार नीराजन चलाउने र विप्लव अधिकारीले पहिलो आधा कार्यकाल तथा रघुनन्दन मारु र सुरज बन्जाडेले दोस्रो आधा कार्यकाल सदस्यको जिम्मेवारी सम्हाल्नेछन्।
जिल्ला–नगर उद्योग वाणिज्य सङ्घ समूह, प्रदेश समूह तथा एसोसिएट समूहबाट पनि विभिन्न व्यवसायी निर्वाचित भएका छन्। एसोसिएट महिलातर्फ अभिज्ञा मल्ल र जुना माथेमा विजयी भएका छन् भने द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घबाट मनोज पौडेल तथा संस्थापक सदस्य समूहबाट गोपाल श्रेष्ठ र सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन्।
