काठमाडौं । चिनियाँ सहयोगमा चक्रपथ विस्तारको दोस्रो चरणको काम अघि बढ्ने भएको छ। बुधबार भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकास मन्त्रालय र नेपालका लागि चिनियाँ दूतावासबीच सहायतासम्बन्धी सम्झौता भएपछि निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको हो।
सम्झौतापत्रमा भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार दोस्रो चरणमा कलङ्कीदेखि बसुन्धरासम्म ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ। यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ।
यसअघि सन् २०१९ मा पहिलो चरणअन्तर्गत कोटेश्वरदेखि कलङ्कीसम्मको १०.३९ किलोमिटर सडक विस्तार सम्पन्न भई नेपाल सरकारलाई हस्तान्तरण भइसकेको थियो। चक्रपथको दोस्रो खण्डमा कुल ११.६ किलोमिटर विस्तार गर्ने लक्ष्य भए पनि हाल बसुन्धरासम्मको खण्डलाई प्राथमिकतामा राखिएको छ।
यसअघि वि.सं. २०७४ फागुनमा कलङ्की–महाराजगन्ज खण्ड विस्तारका लागि समझदारी भए पनि विभिन्न कारणले काम अघि बढ्न सकेको थिएन। सन् १९७७ मा चीनकै सहयोगमा २७.२ किलोमिटर चक्रपथ निर्माण गरिएको थियो।
सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनमा देखिन सक्ने समस्या तत्काल समाधान गर्दै सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चिनियाँ राजदूत झाङ माओमिङले अनुकूल वातावरण बनेमा नेपालमा थप चिनियाँ लगानी भित्रिने र विकासमा सहयोग निरन्तर रहने बताएका छन्।
