काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले उक्त राजीनामा उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको एक नेताले जानकारी दिएका छन्।
समानुपातिक उम्मेदवारको सूची बुझाउने सन्दर्भमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि थापाले राजीनामा दिएका हुन्। स्रोतका अनुसार उनले राजीनामा पत्र सार्वजनिक नगर्ने सर्तमा बुझाएका हुन्।
भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकमा थापा सभापतिको हैसियतमा सहभागी नहुने बताइएको छ। ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने उक्त बैठकले थापाको राजीनामाबारे औपचारिक छलफल गर्नेछ।
उच्च स्रोतका अनुसार केन्द्रीय समितिले थापाको राजीनामा अस्वीकृत गर्दै उनलाई फिर्ता लिन आग्रह गर्ने सम्भावना रहेको छ।
