काठमाडौं । डोनाल्ड ट्रम्पले विश्वव्यापी भन्सार दर १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याउने घोषणा गरेका छन्। अमेरिकाको सर्वोच्च अदालतले हालै शुल्कसम्बन्धी निर्णय उल्ट्याएपछि उनले यसबारे नयाँ कदम चाल्ने बताएका हुन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म Truth Social मार्फत प्रतिक्रिया दिँदै सर्वोच्च अदालतको निर्णयलाई “बेकार र अत्यन्तै अमेरिकी विरोधी” भनेका छन्। उनले राष्ट्रपतिको हैसियतमा विश्वव्यापी १० प्रतिशत करलाई बढाएर १५ प्रतिशत बनाउने निर्णय सार्वजनिक गरेका हुन्।
यसअघि Supreme Court of the United States ले ट्रम्पद्वारा लागू गरिएको विश्वव्यापी कर खारेज गरेको थियो। ६–३ बहुमतले गरिएको उक्त फैसलामा अदालतले ट्रम्पले आफ्नो अधिकार सीमा नाघेको र राष्ट्रिय आपत्कालीन ऐनको दुरुपयोग गरेको ठहर गरेको थियो।
ट्रम्पले आफ्नो वक्तव्यमा धेरै देशहरूले वर्षौंदेखि अमेरिकालाई आर्थिक रूपमा हानि पुर्याउँदै आएको दाबी गर्दै अब त्यसको कानुनी जवाफ दिइने बताएका छन्। साथै, आगामी महिनाहरूमा ट्रम्प प्रशासनले अझ सशक्त र कानुनी रूपमा मजबुत नयाँ शुल्क दरहरू निर्धारण गर्ने पनि संकेत दिएका छन्।
उनको यो घोषणासँगै अमेरिकी व्यापार नीतिमा थप कडाइ आउने संकेत देखिएको छ।
