२०८३ भाद्र २९ गते सोमवार

images
  • समाचार
  • इन्जिनियर यादवको गोली हानी हत्या, सुरक्षा...

इन्जिनियर यादवको गोली हानी हत्या, सुरक्षा निकायद्वारा व्यापक खोजी

इन्जिनियर यादवको गोली हानी हत्या, सुरक्षा निकायद्वारा व्यापक खोजी

सहर्ष न्युज
सोमवार, फाल्गुण ४ २०८२
सहर्ष न्युज
सोमवार, फाल्गुण ४ २०८२
  • सर्लाही : सर्लाहीको सदरमुकाम मलङ्गवामा आइतबार राति गोली प्रहार गरी एक जना इन्जिनियरको हत्या गरिएको छ।

    पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत ३६ वर्षीय प्रमोदकुमार यादवको गोली हानी हत्या गरिएको हो। मलङ्गवा नगरपालिका–१० देबीटोलस्थित डेरामा बस्दै आएका यादवलाई राति करिब ८ बजेतिर अज्ञात व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

    छातीमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याइएको थियो। चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

    सिरहाको सुखिपुर नगरपालिका–६ बैशाखा घर भएका यादव श्रीमतीसहित मलङ्गवामा कोठा भाडामा लिएर बस्दै आएका थिए।

    सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार प्रारम्भिक जानकारी अनुसार यादवलाई फोन गरेर डेरा बाहिर बोलाइ गोली प्रहार गरिएको हो। “फोन गरेर बाहिर बोलाएर गोली हानिएको भन्ने सूचना आएको छ। हामी थप अनुसन्धान गरिरहेका छौँ,” उनले बताए।

    घटनापछि मलङ्गवाको चारैतर्फ नेपाली सेना, नेपाल प्रहरीसशस्त्र प्रहरी परिचालन गरिएको छ। गोली प्रहार गर्ने व्यक्तिको खोजी तीव्र बनाइएको प्रशासनले जनाएको छ।

    हत्या प्रकरणपछि नेपाल–भारत सीमा क्षेत्रमा समेत कडाइ गरिएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार गोली प्रहारको कारण खुल्न सकेको छैन। घटनाबारे जानकारी पाएलगत्तै सर्लाही प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कासहितको टोली घटनास्थलमा खटिएको छ र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    मृतक यादवको शव हाल प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान र पक्राउका लागि सक्रिय रूपमा खोजी कार्य जारी राखेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend