काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मतपत्र छपाईको हालसम्मको विवरण सार्वजनिक भएको छ। निर्वाचन आयोगले जारी गरेको सूचनाका अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा यो कार्य तीव्र गतिमा भइरहेको छ। सूचनामा उल्लेख भएअनुसार, पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तथा समानुपातिक निर्वाचन प्रणाली दुवैका लागि नमुना मतपत्र छपाइ मिति २०८२ पुष २२ गतेभित्रै पूरा गरी सम्बन्धित जिल्लाहरूमा पठाइसकिएको छ। कुल १० लाख ९८ हजार २०० थान नमुना मतपत्र तयार पारिएको हो।
विवरण अनुसार :
१) प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि मिति २०८२ पुष २२ गतेबाट नमुना मतपत्र १०,९८,२०० (दश लाख अन्ठानब्बे हजार ) छपाई सम्पन्न गरी विभिन्न जिल्लाहरुमा पठाई सकिएको ।
२) मिति २०८२ पुष २६ गतेबाट समानुपातिक मतपत्र छपाई शुरु गरी मिति २०८२ माघ १३ गतेसम्म आवश्यक पर्ने जम्मा मतपत्र सङ्ख्या २,०८,३०,००० (दुई करोड आठलाख तीस हजार) छपाई सम्पन्न गरी प्याकिङ्ग तथा रुजु समेतगरी ढुवानीको लागि तयारी अवस्थामा राखिएको ।
३) त्यसैगरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतका लागि आवश्यक पर्ने जम्मा मतपत्र सङ्ख्या २,०३,२३,००० (दुई करोड तीन लाख तेइस हजार) छपाई गर्नु पर्नेमा २०८२ माघ १६ गते देखि छपाई शुरु गरी मिति २०८२ माघ २२ गते विहान ८:०० बजेसम्म विभिन्न क्षेत्रका जम्मा ७२,६०,००० ( बहत्तर लाख साठी हजार) मतपत्र छपाई भई ५८२५(पाँच हजार आठ सय पच्चीस) बाकस प्याकिङ्ग भई सकेको ।
४) डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकूम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको छपाई तथा प्याकिङ्ग सम्पन्न भई सकेको।
५) मिति २०८२ माघ २२ गते बिहान ८:०० बजेसम्म ६० निर्वाचन क्षेत्रको छपाई सम्पन्न भइसकेको।

यी विवरणहरू निर्वाचन आयोगले जारी गरेको आधिकारिक सूचनामा आधारित छन्। छपाइ कार्यलाई थप तीव्र बनाउँदै निर्वाचन समयमै सम्पन्न गर्ने लक्ष्यका साथ जनक शिक्षा सामग्री केन्द्रले निरन्तर प्रयास गरिरहेको छ। यसले मतदातालाई निर्वाचन प्रक्रियामा सहज सहभागी गराउन महत्वपूर्ण भूमिका खेल्नेछ।
