२०८३ श्रावण १० गते आइतवार

images
  • समाचार
  • फेक रेस्क्यू गरेर करोडौँ डलर ठगी...

फेक रेस्क्यू गरेर करोडौँ डलर ठगी गर्ने ६ जना पक्राउ, तीन ट्राभल कम्पनीमाथि गम्भीर अनुसन्धान

फेक रेस्क्यू गरेर करोडौँ डलर ठगी गर्ने ६ जना पक्राउ, तीन ट्राभल कम्पनीमाथि गम्भीर अनुसन्धान

सहर्ष न्युज
सोमवार, माघ १३ २०८२
सहर्ष न्युज
सोमवार, माघ १३ २०८२
  • काठमाडौँ : नेपाल प्रहरीले ‘फेक रेस्क्यू’को नाममा नक्कली कारोबार गरी विदेशी पर्यटक र बीमा कम्पनीलाई ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले विभिन्न ट्राभल तथा रेस्क्यू कम्पनीका सञ्चालकलाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

    पक्राउ पर्नेमा जयराम रिमाल, विवेक पाण्डे, रविन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसी रहेका छन्। रिमाल र पाण्डे माउन्टेन रेस्क्यू सर्भिस प्रालि, अधिकारी र थपलिया नेपाल चार्टर सर्भिस प्रालि तथा पाण्डे र केसी एभरेष्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिसँग आबद्ध रहेको प्रहरीले जनाएको छ।

    पत्रकार सम्मेलनमा सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) डा. मनोज केसीले पक्राउ परेका छ जनामाथि राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिए।

    उनका अनुसार माउन्टेन रेस्क्यू सर्भिस प्रालिले १ हजार २४८ जनामध्ये १७१ जनाको फेक रेस्क्यू गरेको खुलेको छ। सोही आधारमा उक्त कम्पनीले १० करोड अमेरिकी डलरभन्दा बढी बीमा दाबी गरेको पाइएको छ।

    यस्तै, नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जनाको उद्धार गरेको दाबी गरे पनि त्यसमध्ये ७५ जना फेक रेस्क्यू भएको अनुसन्धानमा खुलेको छ। सोवापत कम्पनीले ८२ लाख अमेरिकी डलर बीमा दाबी गरेको पाइएको छ।

    एभरेष्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिको हकमा ६०१ जनामध्ये ७१ जना पर्यटकको उद्धार शंकास्पद देखिएको छ। उक्त कम्पनीले त्यसका आधारमा ११ लाख ५३ हजार अमेरिकी डलर बीमा दाबी गरेको सिआइबीले जनाएको छ।

    ब्यूरो प्रमुख केसीका अनुसार फेक रेस्क्यूसम्बन्धी उजुरीहरू अझै पनि आउने क्रम जारी छ। “उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकानुनी कारोबार भइरहेको भन्ने उजुरी र सञ्चारमाध्यममा आएका समाचारका आधारमा अनुसन्धान सुरु गरिएको हो,” उनले भने, “साढे दुई महिनाको अनुसन्धानमा फेक रेस्क्यूका धेरै पाटा खुलेका छन्। थप अनुसन्धान जारी छ।”

    प्रहरीले यस प्रकरणमा संलग्न अन्य व्यक्ति तथा संस्थाबारे पनि छानबिन भइरहेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend