गोरखा । अजिरकोट गाउँपालिका वडा नम्बर २ अन्तर्गत पर्ने ओलाङ गाउँमा दुईदिने खुवाई भोज तथा बृहत् सांस्कृतिक कार्यक्रम २०८२ सफलतापूर्वक सम्पन्न भएको छ।
गोरखा र लमजुङको सिमानामा अवस्थित अजिरकोट गाउँपालिकाको उत्तर–पश्चिम भागमा पर्ने ओलाङ गाउँ दुध पोखरी कुण्ड यात्राको अन्तिम बस्तीका रूपमा चिनिन्छ। भौगोलिक रूपमा पालिकाकै विकट गाउँ मानिए पनि विकास र सामाजिक एकताका दृष्टिले ओलाङले उल्लेखनीय फड्को मारेको छ।
गुरुङ समुदायको बाहुल्यता रहेको ओलाङ गाउँमा ६४ घरधुरी गुरुङ र २४ घरधुरी तामाङ समुदायबीच आपसी सहकार्य र सद्भाव कायम रहँदै आएको छ। गाउँमा समाजघर, खेलमैदानलगायत आधारभूत पूर्वाधार विकास भएका छन् भने आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि होमस्टे पनि सञ्चालनमा ल्याइएको छ।

समाजसेवी युवा मनराज गुरुङका अनुसार ओलाङमा घाटु, स्यार्गा, सोरठी, जैसी र झाँक्रीजस्ता मौलिक संस्कृतिहरू अझै जीवित छन्। अर्गानिक बाली, फलफूल र तरकारी उत्पादन हुने भएकाले पर्यटनको राम्रो सम्भावना रहेको उनले बताए। सामाजिक तथा सांस्कृतिक गतिविधिमा गाउँका महिला, पुरुष तथा युवाहरू सक्रिय रूपमा सहभागी हुँदै आएका छन्।
गुरुङ संस्कार र संस्कृतिको संरक्षण गर्दै आएको ओलाङ गाउँले ११ वर्षपछि आयोजना गरेको यस बृहत् कार्यक्रममा ५५ वटा गाउँमा निमन्त्रणा पठाइएको थियो। सोही निमन्त्रणाका आधारमा ४० भन्दा बढी गाउँबाट करिब २ हजार ५ सय पाहुनाको उपस्थिति रहेको थियो।
माघ २ गते साँझ ५ बजेदेखि सुरु भएको कार्यक्रममा राष्ट्रियस्तरका लोक दोहोरी तथा सालैजो गायक राजु गुरुङ, लोक दोहोरी गायिका जालु गुरुङ, प्रसिद्ध गुरुङ गायिका उषा गुरुङ, स्थानीय गायिका अञ्जली गुरुङ, तरेली ग्रुपको कोरियोग्राफी तथा मोडेल पवित्रा गुरुङसहित स्थानीय कलाकारहरूले आकर्षक प्रस्तुति दिएका थिए।
कार्यक्रममा जातीय भेषभूषा, मौलिक संस्कृतिको झल्को दिने विविध प्रस्तुति तथा ओलाङकै सोरठी नृत्यले विशेष आकर्षण थपेको थियो।
विशिष्ट अतिथिका रूपमा सहभागी राष्ट्रिय म्रु तमु समाज नेपालका केन्द्रीय अध्यक्ष नारायण गुरुङले समाजका लागि ५० थान कुर्सी सहयोग गर्ने घोषणा गरेका थिए।
तमु संस्कृति संरक्षण तथा सुधार संस्थाको आयोजनामा सम्पन्न कार्यक्रमको सभापतित्व बलभद्र गुरुङले गरेका थिए भने तमु ह्युल छोज धी (गुरुङ राष्ट्रिय परिषद्) का केन्द्रीय महासचिव राजु गुरुङ प्रमुख अतिथि रहेका थिए। संस्थाका सचिव निराजन गुरुङले सञ्चालन गरेको कार्यक्रम हालसम्मकै भव्य, सभ्य र ऐतिहासिक रहेको कार्यक्रम संयोजक सोम गुरुङले बताएका छन्।
