काठमाडौं । इरानमा जारी देशव्यापी प्रदर्शन र त्यसपछि भएको सरकारी दमनका कारण मध्यपूर्वमा तनाव चरम सीमामा पुगेको छ। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीमाथि हुने कुनै पनि आक्रमणलाई पूर्ण युद्ध मानिने तेहरानको चेतावनी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य हस्तक्षेपको धम्कीले स्थिति थप जटिल बनेको हो।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरान सरकारलाई कडा चेतावनी दिँदै शान्तिपूर्ण प्रदर्शनकारीहरूको हत्या जारी रहे अमेरिकाले सैन्य हस्तक्षेप गर्न सक्ने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत ‘मद्दत आउँदैछ’ भन्दै इरानी जनतालाई सत्ताविरुद्ध उभिन आह्वानसमेत गरेका थिए।
तर पछिल्लो दुई दिनयता इरानले सामूहिक मृत्युदण्ड रोक्ने संकेत गरेपछि ट्रम्पले तत्कालका लागि सैन्य आक्रमणको योजना स्थगित गरेको बुझिएको छ।
यसैबीच, इरानका सर्वोच्च नेता खामेनीले ट्रम्पलाई ‘अपराधी’ को संज्ञा दिँदै प्रदर्शनको पछाडि अमेरिका र इजरायलको संलग्नता रहेको आरोप लगाएका छन्। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले खामेनीको सुरक्षामा आँच आउने कुनै पनि कदमको कडा सैन्य जवाफ दिइने चेतावनी दिएका छन्, जसले क्षेत्रीय युद्धको रूप लिन सक्ने उनको भनाइ छ।
गत जनवरी ८ देखि इरानमा लगाइएको इन्टरनेट प्रतिबन्धका कारण आन्दोलनबाट भएको वास्तविक क्षतिको यथार्थ विवरण आउन सकेको छैन। मानवअधिकार संस्थाहरूले हालसम्म ३,४०० भन्दा बढीको मृत्यु पुष्टि गरेका छन् भने केही स्रोतले मृतकको संख्या २० हजारसम्म पुग्न सक्ने बताएका छन्।
तेहरानका अस्पतालहरू घाइते प्रदर्शनकारीले भरिएका छन् भने हजारौँ नागरिकलाई हिरासतमा लिइएको जनाइएको छ।
यसैबीच, अमेरिकाले इरानसँग व्यापार गर्ने देशहरूमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको छ, जसले इरानको अर्थतन्त्रलाई थप दबाबमा पारेको छ। संयुक्त राष्ट्रसंघले इरानमा भइरहेको हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल दमन रोक्न आग्रह गरेको छ।
पछिल्ला प्रतिवेदनअनुसार प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३,३०० देखि २०,००० सम्म हुन सक्ने अनुमान गरिएको छ। द सन्डे टाइम्सका अनुसार मृतकको संख्या १६ हजार ५०० र घाइतेको संख्या करिब ३ लाख ३० हजारसम्म पुगेको हुन सक्छ।
इरानका सर्वोच्च नेता खामेनीले जनवरी १७ मा पहिलोपटक ‘हजारौँ मानिस मारिएको’ स्वीकार गरे पनि त्यसको दोष प्रदर्शनकारी र विदेशी शक्तिलाई लगाएका छन्।
