२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • भारतको हिमाचल प्रदेशमा ग्यास सिलिन्डर विस्फोटमा...

भारतको हिमाचल प्रदेशमा ग्यास सिलिन्डर विस्फोटमा परी नौ नेपाली कामदारको मृत्यु

भारतको हिमाचल प्रदेशमा ग्यास सिलिन्डर विस्फोटमा परी नौ नेपाली कामदारको मृत्यु

सहर्ष न्युज
बुधवार, माघ १ २०८२
सहर्ष न्युज
बुधवार, माघ १ २०८२
  • काठमाडौं । भारतको हिमाचल प्रदेशस्थित सोलन जिल्लाको अर्की क्षेत्रमा सोमबार बिहान ग्यास सिलिन्डर विस्फोटपछि भएको भीषण आगलागीमा परेर नौ जना नेपाली कामदारको मृत्यु भएको छ।

    अर्कीको पुरानो बस स्ट्यान्ड क्षेत्रमा आगलागी हुँदा दर्जनौं पसल तथा आसपासका आवासीय संरचनामा क्षति पुगेको छ। स्थानीय अधिकारीहरूका अनुसार अधिकांश भवन काठका भएकाले आगो छिटो फैलिएको थियो।

    समाचार संस्था एएनआईका अनुसार घटनास्थलबाट कम्तीमा एक बालकलाई जीवितै उद्धार गरिएको थियो। तर उपचारका क्रममा अस्पतालमा उनको मृत्यु भएको हो। प्रारम्भिक जानकारीअनुसार नौ जना नेपाली कामदार भग्नावशेषमुनि फसेका थिए, जसको पछि मृत्यु भएको पुष्टि गरिएको छ।

    आगलागीबाट १० देखि १५ वटा पसल जलेर नष्ट भएको बताइएको छ। ‘घटना लगत्तै अग्नि नियन्त्रक सेवा, एसडीआरएफ, होमगार्ड तथा स्थानीय प्रशासनलाई परिचालन गरिएको थियो। अर्कीमा पूर्ण रूपमा सुसज्जित दमकल युनिट नभएकाले शिमला र अम्बुजा सिमेन्ट कारखानाबाट दमकल मगाइएको थियो,’ एक स्थानीय अधिकारीले बताएका छन्।

    मृतक नौ जना सबै नेपाल सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२, टाकुरा निवासी भएको खुलेको छ। उनीहरू भारतमा दैनिक ज्यालादारी मजदुरी गर्दै आएका थिए। आगलागीको समयमा ग्यास सिलिन्डर राखिएको कोठामै सुतिरहेका बेला विस्फोट भएको जनाइएको छ। भारतीय अग्नि नियन्त्रकका अनुसार मृतकमध्ये पाँच जना बालबालिका र चार जना वयस्क रहेका छन्, जसमा दुई जोडी रहेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend