काठमाडौं । काठमाडौँको दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा भाडामा दिँदा भएको अनियमितता सम्बन्धी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान पूरा गरेको छ। सिआइबीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो।
सिआइबीले बुधबार पेस गरेको प्रतिवेदनमा पूर्वसचिव अर्जुनबहादुर कार्की, ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की तथा यति समूह अन्तर्गतको थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङ प्रालिलाई प्रतिवादी बनाइएको छ। उनीहरुविरुद्ध ठगी तथा आपराधिक लाभको कसुरमा ६ अर्ब ३४ करोड १२ लाख ९८ हजार रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा चलाउन सिफारिस गरिएको छ।
सिआइबीका प्रमुख डा. मनोज केसीका अनुसार तीन जना व्यक्ति र एक कम्पनीविरुद्ध बिगो कायम गरी मुद्दा दायर गर्न सिफारिस गरिएको हो। साथै, थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउन पनि सुझाव दिइएको छ। प्रतिवेदनमा उनीहरुविरुद्ध पाँच वर्षसम्म कैद सजाय माग गरिएको छ।
अनुसन्धानका क्रममा तत्कालीन ट्रस्ट सचिव कार्कीसहितको समूह, बिचौलिया र राज्यका महत्वपूर्ण जिम्मेवारीमा रहेका पदाधिकारीहरूको मिलेमतोमा राज्यलाई अर्बौं रुपैयाँ नोक्सान हुने गरी करार सम्झौता गरिएको र त्यसबाट ठूलो आर्थिक लाभ लिइएको पाइएको सिआइबीले जनाएको छ।
विसं २०७४ जेठ १४ गते गरिएको करार सम्झौताअनुसार नेपाल ट्रस्टलाई दीर्घकालीन नोक्सानी हुने गरी थामसेर्कु प्रालिसँग सम्झौता गरिएको प्रतिवेदनमा उल्लेख छ। सिआइबीले लाभग्राही, सहयोगी अधिकारी तथा विभिन्न ओहोदा र पदमा रहेका व्यक्तिहरूले गैरकानुनी रूपमा लाभ लिई ठगी र आपराधिक विश्वासघात गरेको ठहर गरेको छ।
अनुसन्धानमा ट्रस्टको बहुमूल्य जग्गा अत्यन्तै कम मूल्यमा ‘बिल्ड अपरेट ट्रान्सफर’ (BOT) मोडलमा ३३ वर्षका लागि—तीन वर्ष निर्माण अवधि र बाँकी ३० वर्ष सञ्चालन-अवैध रूपमा भाडामा दिइएको खुलेको छ।
यस प्रकरणमा सिआइबीले गत कात्तिक २१ गते तत्कालीन सहसचिव लेखबहादुर कार्की र कात्तिक ३० गते पूर्वसचिव अर्जुनबहादुर कार्कीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो।
