काठमाडौँ : नेकपा एमालेका नेता महेश बस्नेतले केपी ओली जोगी नभएको बरु सक्षम राजनीतिक शक्तिको अध्यक्ष भएको बताएका छन्। गुण्डुमा बन्न लागेको घरलाई कुटीभन्दै व्यङ्ग गर्ने तर्फ लक्ष्यीत गर्दे बस्नेतले यस्तो धारणा राखेका हुन।
‘केपी ओली जोगी होइनन् एमाले नेपालकै ठुलो र सक्षम राजनीतिक शक्ति हो, उहाँ त्यसको अध्यक्ष हो,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केपी ओलीका लागि २÷३ कोठाको घर बनाइन्छ भन्ने कुरा ‘अपेक्षा’ हो भने अव्यवहारिक छ र ‘व्यङ्ग’ हो भने—व्यङ्ग गर्नेहरूको घर, बसाइ र जीवनशैली सबैले देखेकै छौँ।’
उनले यस विषयमा कसैले टाउको दुखाउनु नपर्ने बताएका छन्।
‘कृपया टाउको नदुखाउनुहोस् अध्यक्षको आवास उहाँको जनसम्पर्क, पार्टीको प्रभाव र दायित्व अनुसार नै निर्माण हुनेछ, यो घर सीमित समर्थक र शुभचिन्तकको सहयोगबाट बन्नेछ, जहाँ गुण्डु र भक्तपुरवासीको विशेष भूमिका रहनेछ,’ उनले भनेका छन्, ‘‘कुटी’, ‘भानुस’ वा ‘आश्रम’—यी त नामाङकन मात्रै हुन्।’
राष्ट्रियता, विकास, समृद्धि र भत्किएको देशको पुनर्निर्माण केपी ओलीले कुटीबाटै गरेर देखाउने क्षमता राख्ने उनले बताए।
शिक्षामन्त्री महावीर पुनले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा को प्रस्तावित निवासको डिजाइनप्रति व्यंग्य गरेका छन् ।
पति–पत्नी मात्रै रहेको परिवारलाई बिलासी प्रकृतिको निवासको डिजाइन गरिएको भन्दै उनले त्यसको नक्सा कोर्ने इञ्जिनियरलाई कारबाही हुनुपर्ने भन्दै व्यंग्य गरेका हुन् ।
‘एकछिन रमाइलो’ भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘यो नक्सा डिजाइन गर्ने इञ्जिनियरलाई सख्त कारबाही गर्नुपर्छ । अनि घोर बेइजती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो भाग छ । हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याऊ भनेपछि यत्रो ठूलो दरबारको नक्सा बनाइदिनु हुन्छ त उसले । कहाँसम्मको लापरवाही हो यो ?’