२०८३ श्रावण १० गते आइतवार

images

आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ

आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ

बुधवार, कार्तिक ६ २०८२
बुधवार, कार्तिक ६ २०८२
  • काठमाडौं । नेपाल सम्वत् ११४६ आज देश भर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । 
        
    राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात गराएका थिए । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासन कालसम्म राष्ट्रिय सम्वत्को  मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरको भनाइ छ ।

    “लिच्छवि कालका राजा राघव देवको शासन कालबाट सुरु भएको नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासन कालसम्म मौलिक सम्वत्का रूपमा चलेको थियो, लिच्छवि कालअघि शक सम्वत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकोले यो मौलिक सम्वत् हो”, उनले भने । 
        
    वि सं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल सम्वत्लाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबीसे, दोलखा भीमेश्वर लगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेष रूपमा मनाउने गरिन्छ ।

    गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वत् समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।

    वि सं २०६५ मा प्रधानमन्त्री पुष्प कमल दाहालले नेपाल सम्वत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौंमा अझै छ ।

    सक्रियबाट साभार 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend