२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनामा जेनजी समूहले...

माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनामा जेनजी समूहले १० प्रतिशत शेयर पाउने

माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनामा जेनजी समूहले १० प्रतिशत शेयर पाउने

सहर्ष न्युज
मंगलवार, आश्विन २८ २०८२
सहर्ष न्युज
मंगलवार, आश्विन २८ २०८२
  • सिन्धुपाल्चोक ।  झण्डै एक महिनादेखि बन्द रहेको ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ। स्थानीय स्तरमा भएको सेयर विवाद समाधान भएपछि आयोजना आइतबारदेखि पुनः सञ्चालनमा आएको हो।

    गत भदौ २५ गतेदेखि भोटेकोशी जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेड नामक समूहले १० प्रतिशत सेयरको माग गर्दै आयोजना बन्द गराएको थियो। विद्युत् उत्पादन रोकिँदा २८ दिनमा करिब २७ करोड रुपैयाँ बराबरको आम्दानी गुमेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विक्रमरत्न स्थापितले जानकारी दिए।

    विद्यमान समस्याको समाधानका लागि प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको पहलमा आयोजना पक्ष, जेनजी समूह र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा त्रिपक्षीय सहमति भएको हो। सहमति अनुसार, भोटेकोशी पावर कम्पनी प्रा.लि. ले आफ्ना कुल सेयरमध्ये १० प्रतिशत सेयर स्थानीय प्रत्यक्ष प्रभावित जनतालाई समेटिएको पब्लिक कम्पनी मार्फत दिनेछ।

    यसका लागि स्थानीयले गठन गरेको भोटेकोशी जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेड ले बैंकमा कर्जा आवेदन दिनेछ, र भोटेकोशी पावर कम्पनीले सो कर्जाको लागि जमानी दिनेछ। एक वर्षभित्र आयोजना सुचारु रहेमा सोही अवधिमा हुने लाभांशबाट कर्जा र व्याज तिर्ने व्यवस्था गरिएको छ। बाँकी भए कम्पनीले त्यो रकम व्यहोर्नेछ।

    २०७१ सालमा सहमति भएको ६% सेयरमा थप ४% गरी कुल १०% सेयर दिने,  सेयर खरिदका लागि आवश्यक लगानी बैंक कर्जाबाट जुटाइने, आयोजना सन्चालन भएसँगै लाभांश वितरणबाट कर्जा चुक्ता गरिनेछ,  स्थानीयलाई सेयरधनी बनाइसकेपछि सेयर वितरणको औपचारिक प्रक्रिया सुरु गरिनेछ सहमती भएका छन् ।

    सामाजिक उत्तरदायित्व अन्तर्गत भोटेकोशी गाउँपालिकालाई वार्षिक २ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता रहेको छ। यसपछि अन्य शीर्षकमा रकम माग नगर्ने सहमति पनि भएको छ।

    सम्झौतामा जेनजी पब्लिक कम्पनीका अध्यक्ष फुर्पा शेर्पा र भोटेकोशी पावर कम्पनीका सचिव विश्वमोहन कर्माचार्यले हस्ताक्षर गरेका छन्। सम्झौता प्रक्रियामा जिल्ला प्रशासन, प्रहरी, सशस्त्र प्रहरी, उर्जा मन्त्रालयका प्रतिनिधि, गाउँपालिका अध्यक्ष-उपाध्यक्ष, वडाअध्यक्षलगायत स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो।

    पुनः सञ्चालनमा आएपछि आयोजना दैनिक करिब ९८ लाख रुपैयाँ बराबरको विद्युत् उत्पादन गरिरहेको छ। आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग २५ वर्षे विद्युत् खरिद सम्झौता अन्तर्गत प्रतियुनिट १ रुपैयाँ ६२ पैसा ५६ पैसा मा विद्युत् बिक्री गरिरहेको छ, जुन दर नेपालमै सस्तो मानिन्छ।

    कम्पनीको स्वामित्व नेपालको प्रतिष्ठित व्यवसायिक घराना सिप्रदी समूह अन्तर्गत रहेको छ, जसका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर राणा छन्।

    यो सहमतिले आयोजना दीर्घकालीन स्थायित्वतर्फ अग्रसर हुने अपेक्षा गरिएको छ।

    यस्तो छ सहमति पत्र

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend