काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर महिनाभित्र सम्पन्न हुने गरी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई चुस्त र प्रभावकारी तयारी गर्न निर्देशन दिनुभएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले सन् २०२६ मा जापानमा आयोजना हुने एसियन गेम्सको पूर्व सन्ध्यामा यो राष्ट्रिय प्रतियोगिता नेपालकै प्रतिष्ठासँग जोडिएको भन्दै तयारीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो।
उहाँले प्रतियोगिताको मिति र स्थान अध्ययनपूर्वक निर्धारण गर्न र एकपटक निर्णय गरेपछि त्यसमा परिवर्तन नगर्न आग्रह गर्नुभयो। साथै, परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रालय र परिषद्को नेतृत्वबीच राम्रो समन्वय आवश्यक भएकोमा विशेष जोड दिनुभयो।
उक्त छलफलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति थियो।
