२०८३ श्रावण ११ गते सोमवार

images

अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो

अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो

मंगलवार, श्रावण ७ २०८२
मंगलवार, श्रावण ७ २०८२
  • काठमाडौँ ।अण्डाको मूल्य हालसम्मको उच्च भएको छ । उत्पादन घटेपछि मूल्य बढेको हो । यससँगै किसानले अण्डाको लागत मूल्य पाएका छन् ।

    नेपाल लेयर्स कुखुरापालक संघले विभिन्न फार्महरूले सार्वजनिक गरेको दररेटलाई आधार मानी समर्थन मूल्य तोकेको छ । आजबाट लागू हुने गरी ठूलो अण्डाको किसानको दररेट प्रतिक्रेट (३० वटाको) रु. पाँच सय २५ कायम गरिएको छ । मध्यम रु. चार सय ९५ कायम भएको छ ।

    चितवनलाई आधार मानी दररेट तय गरिएको हो । यहाँबाट देशका विभिन्न क्षेत्रमा अण्डा पुग्दा बजारको दररेट नयाँ कायम हुन्छ । संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बिक्री मूल्य प्रतिपेटी (सात क्रेट)को रु. तीन हजार ८५५ र मिडियमको रु. तीन हजार ६४५ कायम गरिएको छ ।

    अध्यक्ष पोखरेलका अनुसार यसअघि गत वर्षको भदौमा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु. पाँच सय १० पुगेको थियो । उनले भने, “हालसम्मकै उच्च रेट अण्डाको कायम भएको छ ।” यससँगै किसानले लागत मूल्य पाएको उनले बताए । अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा रहेको छ ।

    अण्डा उत्पादनमा संलग्न कुखुराको सङ्ख्या घटेर मागअनुसार आपूर्ति हुन नसक्दा मूल्य बढेको जनाइएको छ  ।  साथै बुढा कुखुरा बिक्री भई किसान विस्थापित हुँदा नयाँ चल्ला हाल्न नसकिएकाले पनि उत्पादनमा असर परेको उनले बताए ।

    उनले भने, “अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ ।” मूल्य बढ्दा किसान उत्साहित भएका छन् । एकिन तथ्यांक नभए पनि हाल दैनिक २८-३० लाख गोटा अण्डा उत्पादन भइरहेको अनुमान छ । यो सङ्ख्या पहिलाको तुलनामा झण्डै आधा कम हो ।

    प्रशासन न्युजबाट साभार 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend