२०८३ कार्तिक १४ गते शुक्रवार

images

सरकार परिवर्तन हुदैन : एमाले

सरकार परिवर्तन हुदैन : एमाले

मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  •  

    -कम्युनिष्ट आन्दोलनमा योगदान गर्ने सातजना विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिने 
    -बैशाख ११ गते युथ सेलिब्रेशन युवाको व्यापक सहभागिताका साथ सम्पन्न गरिने
    -समसामयिक विकसित राजनीतिक घटनाको गम्भीरतापूर्वक छलफल


    काठमाडौं । सत्तारुढ नेकपा एमालेले अहिलेको सरकार परिवर्तन हुने सम्भावना नरहेको बताएको छ । सोमबार बसेको सचिवालय बैठकमा अहिले सरकार परिवर्तन हुने भन्ने बजार हल्लामा कुनै सत्यता नरहेको जानकारी गराइएको थियो ।

    प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वैशाख महिनाभित्र अहिलेको सरकार परिवर्तन हुने र अबको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताउँदै आउनुभएको छ । सचिवालय बैठकमा यसबारे छलफल भएको बताउँदै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो राजनीतिक घटनाक्रम हुने सम्भावना नरहेको दाबी गर्नु भयो । ज्ञवालीले भन्नुभयो – ‘असम्भव, निरर्थक र अलोकप्रिय विषय उठाउनुपर्ने कुनै कारण छैन । त्यस्ता कुनै राजनीतिक घटनाक्रमको कुनै पनि सम्भावना देख्दिनँ ।’

    सचिवालय बैठकले कांग्रेसका नेताहरूले सरकारको गति नपुगेको भन्दै बाहिर जनाइरहेको असन्तुष्टिलाई सकारात्मक रूपमा लिएको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि उपमहासचिव ज्ञवालीले सरकार सञ्चालनको संयन्त्रमा रहेकाहरूले संयन्त्रमै छलफल गर्नु उपयुक्त हुने बताउनुभयो । सचिवलय बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको भिडियो सन्देशप्रति आपत्ति जनाएको छ । पार्टी सचिवालयको बैठकले ज्ञानेन्द्र शाहको अभिव्यक्ति आपत्तिजनक रहेको निष्कर्ष निकालेको ज्ञवालीले बताउनुभयो ।

    सचिवालय बैठकले कम्युनिस्ट पार्टी स्थापनाको ७६ औं वर्षगाँठ भव्य रूपमा मनाउने निर्णय गरेको छ । सचिवालय बैठकले वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने र ७ जना नेताहरूलाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय गरेको छ । त्यसरी सम्मानित हुनेहरूमा कञ्चनपुरका लालबहादुर विश्वकर्मा, दाङका सोभाराम बस्नेत,जारकोटका रत्न शार्मा न्यौपाने, सप्तरीका सत्यनारायण मण्डल गोरखाका वासस्पति देवकोटा, काठमाडौंकी शान्ता मानवी, र झापाका हरिचरण शिवाकोटी रहेका छन् । 

    uml youth.jpg
    वैशाख ११ गते राजधानी काठमाडौंमा ४० वर्ष मुनिका १ लाख युवा उतारेर सभा गर्ने निर्णय

    एमालेले वैशाख ११ गते राजधानी काठमाडौंमा ४० वर्ष मुनिका १ लाख युवा उतारेर सभा गर्ने निर्णय गरेको पार्टी सचिव लेखराज भट्टले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend