काठमाडौं । जलस्रोत तथा सिंचाई विभागका नवनियुक्त महानिर्देशक सञ्जीव बरालले परिणाममुखि काम गर्ने हुटहुटीले आफू पुनः विभागमा फर्केको बताएका छन् । सिचाई विभागमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू ‘काम गर्नै’का लागि विभागमा फर्केको बताएका हुन् । महानिर्देशक हुनु अघि बराल मन्त्रालयको विद्युत् विकास दशक आयोजना र जनताको जलविद्युत् कार्यक्रममा कार्यरत थिए ।
दोस्रोपटक महानिर्देशक बनेका बरालले जलस्रोत तथा सिंचाई विभागमा इतिहास रचेका छन् । विभागमा दुई पटक महानिर्देशक हुने उनी पहिलो र एकमात्र महानिर्देशक हुन् । उनी पहिलो २७औं महानिर्देशक थिए भने अहिले २९औं हुन् ।
जलस्रोत तथा सिंचाई क्षेत्रमा राम्रो अनुभव भएका महानिर्देशक बराल यस क्षेत्रका ‘अब्बल’ मानिन्छन् । योग्यताका आधारमा दर्जनौं कर्मचारीका बीच मन्त्रालयले बराललाई ‘क्यापेबल’ ठानेरै दोस्रोपटक महानिर्देशक बनाएको मन्त्रालय स्रोत बताउँछ ।
जलस्रोत तथा सिंचाइ क्षेत्रको समुचित विकास, प्रभावकारी उपयोग तथा दिगो व्यवस्थापनवाट देशको आर्थिक तथा सामाजिक समृद्वि हासिल गर्ने दीर्घकालिन लक्ष्य लिएको विभागअन्तर्गत अहिले अर्बाैँ लगानीका ६ वटा राष्ट्रिय गौरवका सिँचाइ आयोजनासहित केही अन्य आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् । राष्ट्रिय गौरबका सिक्टा, बबई, रानीजमरा कुलरिया, सुनकोशी मरिण डाइभर्सन, महाकाली र भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना विभागअन्तर्गत निर्माण हुँदै छन् । यीबाहेक विभागले थुप्रै ठुला सिँचाइ आयोजनाको पनि काम गरिरहेको गरिरहेको छ ।

यी सबै आयोजनालाई सफल निर्माणको सक्षम नेतृत्व दिनु आफैंमा चुनौतिपूर्ण छ । त्यस्तै संस्थागत सुशासन तथा आर्थिक अनुशासनमा सयौं कर्मचारीलाई राख्नु पनि चुनौतिपूर्ण काम रहेको छ । विभागमा पुनः महानिर्देशक बनेका बरालले भने जलश्रोत तथा सिंचाइ संरचनाहरुको उचित विकास, मर्मत संभार तथा व्यवस्थापन गरी कृषियोग्य भुमिमा बर्षै भरी दिगो एवं भरपर्दाे सिंचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादकत्व तथा उत्पादन वृद्धि गर्दै गरिबी निवारणमा टेवा पु¥याउने थप अर्को चुनौति पनि देखेको कार्यक्रममा बताए । ‘विभागमा थुप्रै अनुभवी र विज्ञ साथीहरु हुनुहुन्छ ।’ महानिर्देशक बरालले थने– ‘मेरो र तपाईहरुको विज्ञतालाई प्रयोग गरी सबै चुनौतिलाई अवसरमा बदल्नु पर्दछ ।’
आफू कामकाजी शिलशिलामा अलिक कडा स्वभावको भएको बताउँदै उनले जिम्मेवारी लिएको सबै कर्मचारीहरुको कामको परिणामलाई कडाईका साथ ‘नियमन’ गर्ने बताए । ‘तपाईहरु सबैले जिम्मवारी लिएको कामलाई समयमै सम्पन्न गर्नुपर्छ ।’ कार्यक्रममा उपस्थित कर्मचारीलाई आफ्नो ‘वटमलाईन’ सम्झाउँदै उनले थपे– ‘अनि, काम चुस्त र दुरुस्त पनि हुनुपर्छ ।’

आफू पहिला पनि विभागमा रहेर कार्य गरिसकेकाले आयोजना, आयोजनाको अवस्था र काम कर्तव्यको बारेमा जानकार रहेको बताउँदै आफ्नो जिम्मेवारीलाई पहिलो दायित्व सम्झेर काम गर्न उनले कर्मचारीहरुलाई निर्देशन दिए । कार्यक्रममा महानिर्देशक बरालले कर्मचारीलाई विभागको अहित स्वीकार्य नहुने चेतावनी समेत दिन भ्याए ।
सिचाई विभागमा भएको कार्यक्रममा वराललाई स्वागत गर्नुको साथै निवर्तमान महानिर्देशक देवराज निरौलाको औपचारिक विदाई समेत गरिएको थियो । उनलाई विदाई गर्दै महानिर्देशक वरालले विभागमा निवर्तमान महानिर्देशक निरौलाको अनुभव आवश्यकता परिरहने भएकाले सहयोग गर्न आग्रह पनि गरे । साथै कार्यक्रममा बरालले निवर्तमान महानिर्देशक निरौलाले केही राम्रा कामहरु सुरु भएको भन्दै सबै राम्रा कामहरु पुरा गरेर छाड्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा निवर्तमान महानिर्देशक निरौलाले आफूले विभागमा लगभग १०० दिन विताउँदा विभागकै हित हुने काम गरेको सुनाए । २८ नम्बरको महानिर्देशक हुँदा पनि विभागकै हितमा केही राम्रा कामहरु गरेको अनुभव सुनाए । आफूले विभाग छाड्नु पर्दा कुनै गुनासो नरहेको निरौलाको भनाई छ । आफ्नो अझै ६ बर्ष जागिरे जीवन बाँकी रहेको सुनाउँदै मन्त्रालय अथवा जहाँ कँही भएपनि विभागको हितमै काम गर्ने प्रतिबद्धता जनाए । ‘मन्त्रीज्यूको आफ्नो कार्यकालमा केही काम गरौं भन्ने हुटहुटी रहेको छ ।’ महानिर्देशक बराललाई संकेत गर्दै भने– ‘त्यस्तै हुटहुटी भएको जोशिला र जाँगरिला महानिर्देशक मन्त्रीज्यूले पठाउनु भएको छ ।’ उहाँहरुको दुबैको ‘ट्युनिङ’ले राम्रो काम गरोस् भन्ने आफ्नो शुभेच्छा र शुभकामना रहेको उनेले सुनाए ।

उप–महानिर्देशक डा. सन्तोष कैनीले स्वागत तथा विदाई मन्तव्य दिनुभएको उक्त कार्यक्रममा उप–महानिर्देशकहरू दिनेश भट्ट, बासुदेव तिमिल्सिना, कृष्णराज पाठक, र खिलानाथ दाहाल, आयोजना प्रमुखहरू र विभागका उच्च अहोदाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
