सुष्मा सापकोटा, काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिकाले आधारभूत तहको पाठ्यपुस्तकमा माओवादी जनयुद्धसम्बन्धी पाठ्यसामग्री समावेश गरेको छ । २०५२ सालदेखि नेकपा माओवादीले सुरु गरेको सशस्त्र विद्रोहबारे पाठ्यपुस्तकमा समावेश गर्नुपर्ने बहस भइरहँदा अजिरकोट गाउँपालिकाले जनयुद्धसम्बन्धी सामाग्री आधारभूत तहको पाठ्यपुस्तकमा समावेश गरेको हो ।
स्थानीय सरकार सञ्चालन मापदण्ड अन्तर्गत नै रहेर स्थानीय पाठ्यक्रम बनाएको अजिरकोट गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जिकिर गरे । उनले कक्षा ५ को अजिरकोट सेरोफेरो पाठ्यपुस्तकको सामाजिक चेतना शीर्षमा माओवादी जनयुद्धसम्बन्धी सामाग्री राखिएको बताए ।
‘स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत रहेर नै पाठ्यपुस्तक तयार गरिएको हो । पाँच कक्षाको पाठ्यपुस्तक अजिरकोट सेरोफेरोको सामाजिक चेतना शीर्षकमा गणतन्त्र स्थापनामा निर्णायक भूमिका खेलेको माओवादी जनयुद्धबारे अहिलेका पुस्तालाई जानकारी गराउन राखिएको हो । पाठ्यपुस्तक छापेर आइसक्यो,’ अध्यक्ष देवकोटाले भने ।
स्थानीय पाठ्यक्रम भनेको कला, संस्कृति, भेसभुसा, रहनसहनबारेमा ज्ञान दिलाउने कुरा भएकाले पछिल्लो सन्दर्भमा परिवर्तनको बारेमा २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन, २०६२र६३ सालको जनआन्दोलनको साथसाथै गणतन्त्र स्थापना गर्न निर्णायक भूमिका खेलेको जनयुद्धबारेमा अहिलेका पुस्तालाई अवगत गराउनु स्थानीय पालिकाको कर्तव्य भएको उनले बताए ।
‘२००७, २०४६, २०६२र६३ को जनआन्दोलनबारे छलफल हुने तर नेपालमा गणतन्त्र प्राप्तिका लागि निर्णायक भूमिका खेलेको माओवादी जनयुद्धबारे आम नयाँ पुस्तालाई थाहा नहुने भइसकेपछि चेतना दिने उद्देश्य स्वरूप हाम्रो चेतना शीर्षकमा ती कुरा समेटिएको छ,’ पाठ्यपुस्तकमा समावेश गर्नुको औचित्यबारे पुष्टि गर्दै देवकोटाले भने । पाठ्य सामाग्रीबाट इतिहास जे हो त्यसलाई सत्यतथ्य दिन खोजिएको अध्यक्ष देवकोटाले दाबी गरे । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि कक्षा १ देखि १० सम्मको अध्ययन अध्यापन गराउने जिम्मा स्थानीय तहलाई दिइएको छ ।
