२०८३ श्रावण १९ गते मंगलवार

images

दक्षिणी रुसको समुद्री तटमा ड्रोन आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

दक्षिणी रुसको समुद्री तटमा ड्रोन आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौं । रुसको दक्षिणी क्षेत्रमा रहेको व्यस्त समुद्री तटमा ड्रोन आक्रमण हुँदा तीन बालबालिकासहित सात जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार घाइतेमध्धे १७ जनाको अस्पतालमा उपचार भइरहेको छ।

    बीबीसीले प्रमाणित गरेको सामाजिक सञ्जालको भिडियोमा एउटा ड्रोन चट्टानतर्फ तीव्र गतिमा झर्दै समुद्र तटमा विस्फोट भएको देखिन्छ। घटनाका बेला समुद्र किनार र पानीमा ठूलो संख्यामा पर्यटकहरू उपस्थित थिए।

    क्रास्नोडार क्षेत्रका गभर्नर भेनीआमिन कोन्द्रात्येभले युक्रेनमाथि नागरिकलाई लक्षित गरी जानाजानी आक्रमण गरेको आरोप लगाएका छन्। यद्यपि युक्रेनले घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन। युद्धमा संलग्न दुवै पक्षले नागरिकलाई जानाजानी निशाना बनाएको आरोप अस्वीकार गर्दै आएका छन्।

    ड्रोनको वास्तविक लक्ष्य के थियो भन्ने अझै स्पष्ट हुन सकेको छैन। केही युक्रेनी टेलिग्राम च्यानलहरूले विद्युतीय युद्ध (इलेक्ट्रोनिक वारफेयर) प्रणालीले ड्रोनको सिग्नल अवरुद्ध गरेपछि ड्रोन समुद्र तटमा खसेको दाबी गरेका छन्।

    रुसी सञ्चार माध्यमका अनुसार केही प्रत्यक्षदर्शीहरूले विस्फोट हुनुअघि मेसिनगन जस्तो गोली चलेको आवाज सुनेका थिए। यसले रुसी हवाई प्रतिरक्षा प्रणालीले ड्रोनलाई खसाल्ने प्रयास गरेको हुन सक्ने अनुमान गरिएको छ।

    घटना कालो सागर (ब्ल्याक सी) किनारमा रहेको आर्खिपो–ओसिपोभ्का गाउँ नजिकको समुद्री तटमा भएको हो। गर्मी मौसम,लामो समुद्री किनारा र विकसित पर्यटन पूर्वाधारका कारण यो क्षेत्र रुसी पर्यटकहरूको प्रमुख गन्तव्य मानिन्छ। अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण धेरै रुसी नागरिकको विदेश यात्रा सीमित भएपछि यस क्षेत्रको लोकप्रियता अझ बढेको छ।

    स्थानीय बासिन्दा र पर्यटकहरूले आक्रमणअघि कुनै चेतावनी साइरन नबजाइएको बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend