काठमाडौं : कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।
धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बस चालक कैलालीको धनगढी उपमहानगरपालिका–१३ गेटाका ४२ वर्षीय हरिसिंह महरा सहित २२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये बैतडी, डोटी, कैलाली, डडेलधुरा, बझाङ, दार्चुला र चितवनका यात्रु रहेका छन्।
घाइते हुनेमा चक्रबहादुर रोकाया, भरत मल्ल, विमल भट्ट, सीतादेवी बादी, नरेन्द्र ताम्राकार, आलिया ताम्राकार, दुई वर्षीय सुदर्शन ताम्राकार, विनोद सत्कुली, लोचन विष्ट, कृष्णबहादुर विष्ट, गणपति भागरी, अखिलकुमार ठडिया, भद्रकृष्ण मिश्र, गोपाल पौडेल, केशबहादुर देउवा, प्रभानन्द ठकुन्ना, दीपिका भण्डारी, प्रकाश रोकाया, किश्वर बोहोरा र पार्वती बोहोरा रहेका छन्।
दुर्घटनापछि घाइतेहरूको उद्धार गरी नजिकका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको स्वास्थ्य अवस्था र दुर्घटनाको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको छ।
घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । सबैलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ ।
