काठमाडौं । दक्षिण एसियाली महिला फुटबलमा एक समय भारत नेपालको सबैभन्दा ठूलो चुनौती थियो। तर पछिल्ला वर्षहरूमा बंगलादेश पनि नेपालको प्रमुख प्रतिद्वन्द्वीका रूपमा स्थापित भएको छ। विशेषगरी पछिल्ला दुई संस्करणको साफ महिला च्याम्पियनसिपमा बंगलादेशले नेपाललाई फाइनलमै पराजित गर्दै लगातार उपाधि जितेको थियो।
भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपको आठौं संस्करणमा नेपाल र बंगलादेश पुनः आमनेसामने हुँदैछन्। यसपटक दुवै टोलीको भेट सेमिफाइनलमा हुन लागेको हो। जसका कारण गत संस्करणका दुई फाइनलिस्टमध्ये एक टोली मात्र उपाधिको दौडमा अगाडि बढ्ने निश्चित भएको छ।
गोवास्थित जवाहरलाल नेहरू रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ। नेपाल समूह ‘ए’ को विजेता तथा बंगलादेश समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल पुगेका हुन्।
आक्रमणमा नेपाललाई साम्बाको अभाव
समूह चरणमा नेपालले भुटानलाई १–० र श्रीलंकालाई २–० ले पराजित गरेको थियो। तर यी दुवै खेलमा टोलीले स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ को अनुपस्थिति महसुस गर्यो।
चोटका कारण मैदान बाहिर रहेकी साम्बाको अभाव नेपालले गोल गर्न गरेको संघर्षबाट स्पष्ट देखिएको छ। दुई खेलमा नेपालले जम्मा तीन गोल मात्र गरेको छ, जसमा स्ट्राइकरबाट एक गोल मात्र सम्भव भएको थियो।
रेखा पौडेल र रश्मीकुमारी घिसिङबीचको समन्वयमा रश्मीले गोल गरेकी थिइन्। तर समग्र टोलीको प्रदर्शन अपेक्षाअनुसार हुन सकेको छैन। खेलाडीहरूबीच तालमेलको कमी देखिएको विश्लेषण भइरहेको छ।
प्रीति राईको आगमनले राहत
अघिल्ला दुई खेल गुमाएकी मिडफिल्डर प्रीति राई टोलीमा फर्किएकी छन्। उनको उपस्थितिले नेपालको मध्यपंक्तिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
मुख्य प्रशिक्षक नवीन न्यौपानेले प्रीतिलाई सुरुआती टोलीमा उतारे सरु लिम्बू वा प्रतिक्षा चौधरीमध्ये एकलाई बेन्चमा राख्न सक्ने सम्भावना छ।
बंगलादेश पनि पुरानै लयमा छैन
लगातार दुई संस्करणको च्याम्पियन बंगलादेशले पनि यस संस्करणमा आफ्नो उत्कृष्ट प्रदर्शन दोहोर्याउन सकेको छैन। समूह चरणमा माल्दिभ्सलाई ४–२ ले हराएको टोली भारतसँग ३–० ले पराजित भएको थियो।
बंगलादेशले प्रतियोगिताका दुवै खेलमा मिली अख्तरलाई गोलपोस्टको जिम्मेवारी दिएको छ भने अनुभवी गोलकिपर रुपना चक्मा बेन्चमै रहेकी छन्। नेपालविरुद्धको महत्वपूर्ण खेलमा प्रशिक्षक पिटर जेम्स बटलरले रुपनालाई मैदान उतार्न सक्ने अनुमान गरिएको छ।
यस्तै, बंगलादेशकी आक्रमणकर्ता ऋतु पोर्ना चक्मा नेपालका लागि विशेष चुनौती बन्न सक्छिन्। उनले गत संस्करणको फाइनलमा नेपालविरुद्ध निर्णायक गोल गरेकी थिइन्।
साफमा नेपाल–बंगलादेश प्रतिस्पर्धाको इतिहास
साफ महिला च्याम्पियनसिपमा नेपाल र बंगलादेशबीच हालसम्म पाँच पटक भेट भएको छ। त्यसमध्ये नेपालले तीन तथा बंगलादेशले दुई खेल जितेका छन्।
दुवै टोली पहिलो पटक सन् २०१० को उद्घाटन संस्करणको सेमिफाइनलमा भिडेका थिए, जहाँ नेपालले ३–० को सहज जित निकालेको थियो। सन् २०१४ को सेमिफाइनलमा पनि नेपाल १–० ले विजयी बनेको थियो।
सन् २०१९ मा नेपालले बंगलादेशमाथि ३–० को प्रभावशाली जित निकालेको थियो। तर पछिल्ला दुई संस्करणका फाइनलमा भने बंगलादेशले नेपाललाई क्रमशः ३–१ र २–१ ले पराजित गर्दै उपाधि जितेको थियो।
यसपटकको सेमिफाइनल नेपालका लागि केवल फाइनल यात्रा सुनिश्चित गर्ने अवसर मात्र होइन, पछिल्ला दुई फाइनलको हारको बदला लिने मौका पनि बनेको छ।
