२०८३ कार्तिक १५ गते शनिवार

images
  • समाचार
  • राप्रपा फेरि विभाजनको संघारमा, धवलशमशेर राणाले...

राप्रपा फेरि विभाजनको संघारमा, धवलशमशेर राणाले थाले नयाँ राष्ट्रवादी अभियान

राप्रपा फेरि विभाजनको संघारमा, धवलशमशेर राणाले थाले नयाँ राष्ट्रवादी अभियान

सहर्ष न्युज
आइतवार, जेठ १७ २०८३
सहर्ष न्युज
आइतवार, जेठ १७ २०८३
  • पटक–पटक एकता र विभाजनको चक्रमा फसेको राप्रपामा फेरि संकट, नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राणासहितका नेताहरू अलग हुने तयारीमा

    काठमाडौं । पूर्वपञ्चहरूको राजनीतिक विरासत बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरि विभाजनको संघारमा पुगेको छ। पटक–पटक एकता र विभाजनको चक्रबाट गुज्रिएको राप्रपाभित्र पछिल्लो समय चुलिएको आन्तरिक विवादले पार्टी पुनः फुटको दिशातर्फ अग्रसर भएको संकेत दिएको छ।

    २०७८ सालको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि पार्टी छाडेका कमल थापा गत पुस १६ गते पुनः राप्रपामा फर्किएका थिए। त्यसबेला पार्टी नेतृत्वले बाहिर रहेका राष्ट्रवादी शक्तिहरूलाई एकीकृत गर्न सफल भएको दाबी गरेको थियो। तर नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि भने निरन्तर बढ्दै गएको देखिएको छ।

    यही असन्तुष्टिको पृष्ठभूमिमा नेता धवलशमशेर राणाले आइतबार विज्ञप्ति जारी गर्दै नयाँ राष्ट्रवादी अभियान सुरु गर्ने घोषणा गरेका छन्। उनले देशप्रेमी, राष्ट्रवादी तथा युवा पुस्तालाई नयाँ अभियानमा सहभागी हुन आह्वान गरेका छन्।

    राणाले विगत चार वर्षमा राप्रपालाई जनभावनाअनुकूल अघि बढाउने प्रयास भए पनि नेतृत्वको सैद्धान्तिक द्विविधा र विरोधाभासपूर्ण कार्यशैलीका कारण पार्टी गलत दिशातर्फ गएको आरोप लगाएका छन्। उनका अनुसार यही कारणले पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा राप्रपा जनताबाट दण्डित भएको हो।

    उनले विज्ञप्तिमा राप्रपामा रहनेहरूलाई शुभकामना दिँदै राष्ट्रवादी विचारधारालाई सही दिशा दिन इच्छुक सबैलाई एकताबद्ध हुन आग्रह गरेका छन्।

    राणासहितका नेताहरू अलग हुने तयारीमा रहेको चर्चा चलिरहेका बेला राप्रपाका शीर्ष नेताहरूले पार्टी एकता जोगाउने प्रयास जारी रहेको बताएका छन्। अध्यक्ष राजेन्द्र लिङ्देन र उपाध्यक्ष बुद्धिमान तामाङलगायतका नेताहरूले संवादमार्फत समस्या समाधान खोज्ने प्रयास गरिरहेका छन्।

    विभाजन र एकताको लामो इतिहास

    २०४६ सालको राजनीतिक परिवर्तनपछि सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको पहलमा राप्रपाको स्थापना प्रक्रिया अघि बढे पनि नेतृत्व विवादका कारण पार्टी सुरुदेखि नै दुई धारमा विभाजित भएको थियो। २०४७ जेठ १५ गते राप्रपा (चन्द) र राप्रपा (थापा) अलग–अलग रूपमा गठन भए।

    २०४८ सालको निर्वाचनमा कमजोर नतिजा आएपछि दुवै समूह एकीकृत भए। तर त्यसपछि पनि सरकार गठन र नेतृत्वका विषयमा उत्पन्न विवादले पार्टी बारम्बार फुट्ने र जुट्ने क्रम चलिरह्यो।

    कमल थापाले २०६२ सालमा राप्रपा नेपाल गठन गरेका थिए भने सूर्यबहादुर थापाले राष्ट्रिय जनशक्ति पार्टी स्थापना गरेका थिए। विभिन्न चरणमा यी दलहरू पुनः एकीकृत भए पनि आन्तरिक शक्ति संघर्ष अन्त्य हुन सकेन।

    २०७६ फागुनमा राप्रपाका प्रमुख तीन धारबीच एकता भए पनि २०७८ मा कमल थापा पुनः अलग भएका थिए। उनी गत पुसमा पुनः राप्रपामा फर्किएका थिए। तर अहिले धवलशमशेर राणासहितका नेताहरूको असन्तुष्टिले पार्टी फेरि नयाँ विभाजनतर्फ उन्मुख भएको देखिएको छ।

    राप्रपाको तीन दशकभन्दा लामो इतिहास हेर्दा पार्टीभित्रको नेतृत्व संघर्ष, वैचारिक मतभेद र सत्ता समीकरणका कारण पटक–पटक विभाजन र एकताको पुनरावृत्ति हुँदै आएको छ। पछिल्लो घटनाक्रमले पनि त्यही इतिहास दोहोरिने संकेत गरेको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend