२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • सुनकोशी मरिण आयोजनामा ढिलासुस्ती गर्ने रमण–पटेल...

सुनकोशी मरिण आयोजनामा ढिलासुस्ती गर्ने रमण–पटेल जेभी तीन वर्षका लागि कालोसूचीमा

सुनकोशी मरिण आयोजनामा ढिलासुस्ती गर्ने रमण–पटेल जेभी तीन वर्षका लागि कालोसूचीमा

सहर्ष न्युज
बुधवार, जेठ १३ २०८३
सहर्ष न्युज
बुधवार, जेठ १३ २०८३
  • काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा ढिलासुस्ती गर्ने निर्माण कम्पनी रमण कन्स्ट्रक्सन र भारतको पटेल इन्जिनियरिङ लिमिटेडको संयुक्त उद्यम (रमण–पटेल जेभी) लाई सरकारले तीन वर्षका लागि कालोसूचीमा राखेको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण–पटेल जेभीसहित ११ कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ।

    जनकपुर–९ धनुषास्थित रमण कन्स्ट्रक्सनले भारतीय कम्पनी पटेल इन्जिनियरिङ लिमिटेडसँग मिलेर सुनकोशी मरिण आयोजनाको बाँध (हेडवर्क्स), विद्युत्गृह, सिभिल संरचना तथा हाइड्रोमेकानिकल उपकरण आपूर्ति र जडानको ठेक्का पाएको थियो।

    काममा ढिलाइ भएपछि कारबाही

    निर्माण प्रगतिमा अत्यधिक ढिलाइ भएपछि आयोजनाले गत वर्ष कात्तिक २५ गते ठेक्का किन नतोड्ने भन्दै कम्पनीसँग स्पष्टीकरण मागेको थियो। तर, कम्पनीको जवाफ चित्तबुझ्दो नभएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो।

    कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

    तत्कालीन ऊर्जा मन्त्री कुलमान घिसिङले पनि सम्झौताअनुसार कामको गति नबढाएको र पटक–पटक सुधारका लागि निर्देशन दिँदा बेवास्ता गरेको भन्दै ठेक्का तोड्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए।

    ३ अर्ब ६० करोडको बैंक ग्यारेन्टी जफत प्रक्रिया

    आयोजनाले ठेक्का सम्झौता रद्द गर्ने प्रक्रियासँगै कम्पनीले राखेको २ अर्ब ४० करोड रुपैयाँ कार्यसम्पादन जमानत र १ अर्ब २० करोड रुपैयाँ अग्रिम भुक्तानी गरी कुल ३ अर्ब ६० करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी जफत गर्ने प्रक्रिया पनि अघि बढाएको छ।

    रमण–पटेल जेभीसँग १४ अर्ब ८ करोड रुपैयाँ (करसहित) मा ठेक्का सम्झौता गरिएको थियो। कम्पनीले अनुमानित लागतभन्दा करिब ३२ प्रतिशत कम रकममा ठेक्का कबोल गरेको थियो।

    १० प्रतिशत मात्रै प्रगति

    निर्माण व्यवसायीले माघ २०७९ देखि काम सुरु गरेको थियो। सम्झौताअनुसार आयोजना असार २०८४ भित्र सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म भौतिक प्रगति करिब १० प्रतिशत मात्र पुगेको छ।

    हालसम्म कम्पनीलाई करिब २ अर्ब १४ करोड रुपैयाँ भुक्तानी गरिएको आयोजनाले जनाएको छ।

    आयोजनाअन्तर्गत १३.३ किलोमिटर लामो सुरुङ टनेल बोरिङ मेसिन (TBM) प्रयोग गरेर खनिएको थियो। उक्त सुरुङ २०८१ वैशाख २६ गते ‘ब्रेकथ्रु’ गरिएको थियो।

    पाँच जिल्लामा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य

    सुनकोशी नदीको पानीलाई सिन्धुली–रामेछाप सीमाबाट सुरुङमार्फत मरिण नदीमा खसालेर बागमती सिँचाइ आयोजनामा पुर्‍याउने लक्ष्य राखिएको छ।

    आयोजनाले हाल सिँचाइ भइरहेको ४५ हजार ६०० हेक्टरसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका कुल १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको छ।

    यसैगरी सुनकोशीको पानी मरिण नदीमा पथान्तरण गरेर ३१ मेगावाट जलविद्युत् उत्पादन गर्ने योजना पनि रहेको छ।

    कृषि उत्पादन वृद्धि, किसानको आयस्तर सुधार, ऊर्जा उत्पादन तथा मधेश प्रदेशको आर्थिक विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित सुनकोशी मरिण आयोजनालाई राष्ट्रिय गौरव तथा रूपान्तरणकारी आयोजनाका रूपमा अघि बढाइएको हो।

    आयोजनाको कुल अनुमानित लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend