काठमाडौं : सरकारले भारतीय पर्यटक तथा भारत हुँदै नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकलाई सहजीकरण गर्ने उद्देश्यले नयाँ अनलाइन सेवा सुरु गरेको छ।
अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले स्थलमार्गबाट नेपाल प्रवेश गर्ने विदेशी सवारीसाधनका लागि विवरण भर्न र राजस्व तिर्न सकिने अनलाइन प्रणाली विकास गरी कार्यान्वयनमा ल्याएको हो।
एक कार्यक्रमबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन्।
नयाँ व्यवस्था लागू भएसँगै अब विदेशी सवारीसाधनसहित नेपाल आउने पर्यटकले अनलाइनमार्फत नै आवश्यक विवरण भरी राजस्व तिर्न सक्नेछन्। यसअघि भने भन्सार नाकामै पुगेर भौतिक रूपमा अस्थायी इजाजतपत्र लिनुपर्ने बाध्यता थियो।
यात्रा अवधिमा इजाजत नवीकरण गर्न पनि भन्सार नाकामा पुग्नुपर्ने वा जरिवाना तिर्नुपर्ने झन्झट रहँदै आएको थियो। तर, नयाँ प्रणालीसँगै अब पर्यटकले घरबाटै अनलाइनमार्फत इजाजतपत्र प्रक्रिया पूरा गरी सहज रूपमा नेपाल भ्रमण गर्न सक्नेछन्।
शुभारम्भ कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले सीमाक्षेत्रमा पर्यटकले भोग्दै आएको सास्ती अन्त्य हुने विश्वास व्यक्त गरे। उनले सुशासन र छरितो सार्वजनिक सेवा प्रवाह गर्ने सरकारको लक्ष्यअनुसार यो कदम चालिएको बताए।
त्यसैगरी, भन्सार विभागका महानिर्देशक श्यामप्रसाद मैनालीले अब नेपाल प्रवेश गर्ने विदेशी सवारीसाधनको इजाजत प्रक्रिया पूर्ण रूपमा डिजिटल भएको जानकारी दिए।
