काठमाडौँ : रूकुम (पूर्वी भाग) स्थित पुथा उत्तरगङ्गा गाउँपालिकामा सञ्चालित कृषि परियोजनामा अनियमितता भएको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्ट नारायण यादवसहित सात जनाविरुद्ध ११ लाख ६९ हजार ७६० रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मुद्दा दायर गरिएकामध्ये वडा नं. १२ का तत्कालीन वडाध्यक्ष गङ्गाबहादुर पुन, तत्कालीन इन्जिनियर खुबिराज शाही, सब–इन्जिनियर कमलप्रसाद केसी, योजना शाखा प्रमुख (कम्प्युटर अपरेटर) चित्रबहादुर केसी, कृषि प्राविधिक ओम प्रकाश ओली, सह–लेखापाल नवराज खड्का, साथै पुथा हिमालयन अर्गानिक कृषि प्रा.लि. र सोका अध्यक्ष सुजन पुनसमेत रहेका छन्।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सङ्घीय सशर्त अनुदानबाट सञ्चालित ‘कागती पकेट विकास कार्यक्रम’ मा अनियमितता गरिएको पाइएको हो। वडा नं. १२ को छमारी क्षेत्रमा सञ्चालन भएको उक्त कार्यक्रममा फिल्डमा वास्तविक रूपमा नभएको कामलाई नापी किताबमा देखाई बढी मूल्याङ्कन गरी भुक्तानी लिएको आरोप छ।
यसरी सरकारी रकम हिनामिना, हानि नोक्सानी तथा दुरुपयोग गरिएको निष्कर्षसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर कायम गरिएको आयोगले जनाएको छ।
उक्त प्रकरणमा ११ लाख ६९ हजार ७६० रुपैयाँ बिगो कायम गरी सजायको मागसहित मङ्गलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जानकारी दिएको छ।
