२०८३ कार्तिक १५ गते शनिवार

images
  • समाचार
  • भक्तपुरमा बिस्का जात्रा तयारी तीव्र: अव्यवस्थित...

भक्तपुरमा बिस्का जात्रा तयारी तीव्र: अव्यवस्थित तार व्यवस्थापन गर्न सात सदस्यीय समिति गठन

भक्तपुरमा बिस्का जात्रा तयारी तीव्र: अव्यवस्थित तार व्यवस्थापन गर्न सात सदस्यीय समिति गठन

सहर्ष न्युज
सोमवार, चैत्र ९ २०८२
सहर्ष न्युज
सोमवार, चैत्र ९ २०८२
  • भक्तपुर : भक्तपुरको ऐतिहासिक तथा प्रसिद्ध बिस्का जात्रा यस वर्ष चैत २७ गते शुक्रबारदेखि सुरु हुने भएको छ। जात्रालाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरोकारवाला निकायबीच सोमबार समन्वय बैठक सम्पन्न भएको छ।

    बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरका विभिन्न स्थानमा छरपस्ट रहेका केबल तथा इन्टरनेटका तारहरू व्यवस्थापन गर्न सबै पक्षको संयुक्त पहल आवश्यक रहेको बताए। उनले यस्ता अव्यवस्थित तारहरूले जात्राको क्रममा अवरोध सिर्जना गर्न सक्ने भएकाले समयमै व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

    हरेक वर्ष नयाँ वर्षअघि चार दिन र पछाडि चार दिन गरी कुल आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको क्रममा भक्तपुर–५ ल्योसिंखेलमा ५५ हात लामो लिंगो उभ्याइन्छ। साथै, न्यातापोल मन्दिर अगाडि निर्माण गरिने करिब ३५ फिट अग्लो भैरवनाथको रथ नगरका पूर्व थने र पश्चिम क्वनेतर्फ तानेर लैजाने परम्परा छ। यस क्रममा झुण्डिएका तारहरूले अवरोध पुर्‍याउने सम्भावना रहेको बताइएको छ।

    नगर प्रमुख प्रजापतिले भक्तपुरलाई सफा, सुन्दर र सांस्कृतिक रूपमा समृद्ध नगरको रूपमा विकास गर्ने लक्ष्यअनुसार बजार क्षेत्रमा भवनहरूको छत एकरूप बनाउने काम पनि भइरहेको जानकारी दिए।

    बैठकमा वडा नं. ९ का अध्यक्ष रवीन्द्र ज्याख्वले नगर क्षेत्रमा तारहरूको अस्तव्यस्त अवस्थाबारे जनगुनासो बढिरहेको उल्लेख गर्दै अनावश्यक केबल हटाउनुपर्ने आवश्यकता औंल्याए।

    प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले सहर सुन्दर बनाउन तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न तार व्यवस्थापन अनिवार्य भएको बताए।

    बैठकले बिस्का जात्रालगायत अन्य पर्वहरूलाई लक्षित गर्दै विद्युत्, टेलिकम, केबल र इन्टरनेट सेवाका तारहरू व्यवस्थित गर्ने निर्णय गरेको छ। यसका लागि श्यानिटेशन शाखा प्रमुख दीलिप सुवालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ।

    कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, केबल नेटवर्क तथा इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिहरूले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend