भक्तपुर । मुखको क्यान्सरबाट पीडित खोटाङ जिल्ला बराहपोखरी गाउँपालिकाका हाल सुनसरीको वराहक्षेत्र नगरपालिका–८ राजाबास निवासी ३४ वर्षीय दिपक खत्रीलाई उपचार सहयोगस्वरूप संकलित रकम हस्तान्तरण गरिएको छ।
उहाँको औषधि उपचारमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको अभियानमार्फत हालसम्म संकलित रु. ७,२६,८३२ (अक्षरूपी सात लाख छब्बीस हजार आठ सय बत्तीस रुपैयाँ) एक विशेष कार्यक्रमबीच हस्तान्तरण गरिएको हो।
नेपाल मानव अधिकार जागरण मञ्चका अध्यक्ष, खोटाङ सेवा समाजका केन्द्रीय सदस्य तथा अभियानका नेपाल संयोजक समाजसेवी लोकबहादुर खत्रीको संयोजकत्वमा खोटाङ सेवा समाजको केन्द्रीय कार्यालय लोकन्थली, भक्तपुरमा कार्यक्रम आयोजना गरिएको थियो।

अभियानमा सदस्य माधव खत्री, संयुक्त अरब इमिरेट्स (UAE) बाट खडिन्द्र बहादुर खत्री र कतारबाट राजकुमार खत्रीले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।
बिरामीकै उपस्थितिमा आयोजित उक्त कार्यक्रममा संयोजक लोकबहादुर खत्री, समाजका अध्यक्ष नवल खड्का, मध्यपुर ठिमी नगरपालिका–१ का वडा अध्यक्ष बाबुकाजी डंगोल, युवा नेता तथा समाजसेवी अष्ट कवे, बञ्जारा तथा बन्जाडे समाज नेपालकी केन्द्रीय अध्यक्ष गीता तिमल्सेना (बञ्जारा), समाजसेवी केदार आले मगर, गोविन्द वल्लभ भट्टलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै वक्ताहरूले पीडितको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। कार्यक्रमको सञ्चालन समाजका महासचिव राजु एन राईले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष जगत प्रसाद घिमिरेले व्यक्त गर्नुभएको थियो।

समाजका अध्यक्ष नवल खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले मानवता, करुणा र सहकार्यको उदाहरण प्रस्तुत गर्न सबै एकजुट भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “स्वास्थ्य नै जीवनको आधार हो। जब स्वास्थ्य कमजोर हुन्छ, तब परिवार, भविष्य र सपनाहरू सबै प्रभावित हुन्छन्। यस्तो अवस्थामा एउटा परिवारले एक्लैले सबै भार बोक्न अत्यन्त कठिन हुन्छ। तर जब समाज साथ दिन्छ, तब असम्भव जस्तो लाग्ने कुरा पनि सम्भव बन्न सक्छ। सानो सहयोग पनि ठूलो आशा बन्न सक्छ। हामी एकजुट भयौं भने उपचार सम्भव हुनेछ र एउटा जीवन फेरि मुस्कुराउन सक्नेछ।”
कार्यक्रमका संयोजक लोकबहादुर खत्रीले उपस्थित सम्पूर्ण सहयोगी तथा शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गर्दै “मानव सेवा नै ठूलो धर्म हो” भन्ने सन्देश व्यक्त गर्नुभयो। उहाँले सहयोगीहरूको नामावली समेत वाचन गर्नुभएको थियो।
