२०८३ कार्तिक १५ गते शनिवार

images
  • समाचार
  • सडक दुर्घटनाबाट पाँच वर्षमा १४ हजार...

सडक दुर्घटनाबाट पाँच वर्षमा १४ हजार बढीको ज्यान गयो : सडक सुरक्षा अझै उपेक्षित

सडक दुर्घटनाबाट पाँच वर्षमा १४ हजार बढीको ज्यान गयो : सडक सुरक्षा अझै उपेक्षित

सहर्ष न्युज
मंगलवार, फाल्गुण १२ २०८२
सहर्ष न्युज
मंगलवार, फाल्गुण १२ २०८२
  • काठमाडौँ : नेपालमा पछिल्लो पाँच वर्षमा सडक दुर्घटनाबाट १४ हजारभन्दा बढी नागरिकले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार यस अवधिमा १४ हजार २१४ जनाको मृत्यु भएको छ भने एक लाख ७१ हजार ९५२ जना घाइते भएका छन्। भौतिक क्षतिको यकिन विवरण भने उपलब्ध छैन।

    तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा २५ हजार ७८८ दुर्घटनामा दुई हजार २९१ जनाको मृत्यु भएको थियो। आव २०७७/७८ मा २४ हजार ५३९ दुर्घटनामा दुई हजार ८८३ जनाले ज्यान गुमाए। चालु आव २०८१/८२ को नौ महिनामै २२ हजार ८६० दुर्घटनामा दुई हजार ७९ जनाको मृत्यु र ३५ हजार ७७८ जना घाइते भएका छन्।

    विश्लेषणले देखाउँछ—दैनिक औसत ८० दुर्घटना हुँदा आठ जनाको मृत्यु र ७० जना घाइते हुने गरेका छन्। मृतकमध्ये करिब ८० प्रतिशत २५ वर्षमाथिका पुरुष छन्।

    कानुन छ, कार्यान्वयन कमजोर

    सवारी तथा यातायात व्यवस्था ऐन, २०५४ ले लामो दूरीमा दुई चालक अनिवार्य, गति सीमा, टाइमकार्ड, सिट क्षमताभन्दा बढी यात्रु नबोक्ने र नियमित प्राविधिक परीक्षण जस्ता व्यवस्था गरेको छ। तर सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय अभाव र कमजोर अनुगमनका कारण कार्यान्वयन प्रभावकारी हुन सकेको छैन।

    यातायात व्यवस्था विभागका अनुसार अन्तरप्रदेश रुट निर्धारण र राष्ट्रिय राजमार्ग अनुगमनमा अन्योल छ। आवश्यक प्रविधि र जनशक्तिको अभावले नियमित यान्त्रिक परीक्षणसमेत सीमित बनेको छ। व्यवसायी पक्षले अस्वस्थ प्रतिस्पर्धा, दक्ष चालक पलायन र राज्यको उपेक्षाले दुर्घटना बढेको दाबी गरेको छ।

    सुझाव कार्यान्वयनमा ढिलाइ

    गत असार २८ मा काठमाडौँ–रौतहट र वीरगञ्ज–काठमाडौँ चल्ने दुई बस पहिरोसँगै त्रिशूलीमा खस्दा २४ जनाको मृत्यु र ३५ जना बेपत्ता भएका थिए। सो घटनापछि गठित छानबिन समितिले सडक सुरक्षा परिषद् स्थापना, एकीकृत आपत्कालीन पूर्वसूचना प्रणाली, सुरुङमार्ग प्राथमिकता, दुर्घटना राहत कोष, रुट इजाजत मापदण्ड स्पष्टता र राजमार्गको नियमित मूल्याङ्कन जस्ता सुझाव दिएको थियो। तर ती अधिकांश सुझाव अझै कार्यान्वयनमा आएका छैनन्।

    धादिङ बस दुर्घटना : १९ को मृत्यु, २५ गम्भीर घाइते

    आइतबार राति पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ–५, भैँसीगौडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खस्दा १९ जनाको मृत्यु भएको छ। २५ जना गम्भीर घाइते छन्।

    घाइतेमध्ये १४ जनाको उपचार काठमाडौँस्थित ट्रमा सेन्टर, १० जनाको नेसनल अस्पताल कलङ्की र एक जनाको धादिङ अस्पतालमा भइरहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी छ। गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकले घटनाको छानबिनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ।

    प्रहरीका अनुसार राति करिब १:१० बजे ठूलो आवाजसहित बस नदीमा खसेको थियो। स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो। मृतक सबैको सनाखत भइसकेको छ।

    दुई सातामा तीन ठूला दुर्घटना, ५० को ज्यान

    पछिल्लो दुई सातामा मात्र तीन ठूला दुर्घटनामा ५० जनाको मृत्यु र ७० भन्दा बढी गम्भीर घाइते भएका छन्। रामेछाप, बैतडी र धादिङमा भएका दुर्घटनाले देशलाई स्तब्ध बनाएको छ।

    सडक साँघुरा र जीर्ण हुनु, नियमित सवारी जाँच नहुनु, कमजोर अनुगमन, तीव्र गति, मादक पदार्थ सेवन र चालकको लापरबाही मुख्य कारणका रूपमा औँल्याइएको छ। पूर्व प्रहरी अधिकारीहरूका अनुसार सार्वजनिक सवारीको चाप बढ्दै जाँदा अनुगमन जनशक्ति अत्यन्त न्यून हुँदा प्रभावकारी नियन्त्रण सम्भव भइरहेको छैन।

    समाधानतर्फ कहिले ?

    विशेषज्ञहरू भन्छन्—कानुनको कडाइका साथ कार्यान्वयन, नियमित प्राविधिक परीक्षण, चालकको स्वास्थ्य र दक्षता परीक्षण, प्रविधिमा आधारित अनुगमन र सडक पूर्वाधार सुधार बिना दुर्घटना न्यूनीकरण सम्भव छैन।

    बर्सेनि हजारौँ नागरिकको अकाल मृत्यु रोक्न सरकार, व्यवसायी र नागरिक सबै पक्षको साझा प्रतिबद्धता अब अपरिहार्य देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend