२०८३ भाद्र २९ गते सोमवार

images
  • समाचार
  • धनुषामा अनलाइन ठगी गिरोह पक्राउ: नागरिकता...

धनुषामा अनलाइन ठगी गिरोह पक्राउ: नागरिकता दुरुपयोग गरी ३९ लाखभन्दा बढीको कारोबार

धनुषामा अनलाइन ठगी गिरोह पक्राउ: नागरिकता दुरुपयोग गरी ३९ लाखभन्दा बढीको कारोबार

सहर्ष न्युज
बिहिवार, पौष २४ २०८२
सहर्ष न्युज
बिहिवार, पौष २४ २०८२
  • धनुषा : लामो समयदेखि अनलाइन ठगीको धन्दा चलाउँदै आएको एक गिरोहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। स्थानीय सर्वसाधारणको नागरिकता दुरुपयोग गरी आइडी वालेटमार्फत अनलाइन ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको हो।

    वैदेशिक रोजगारीका क्रममा आफन्तले रेमिट्यान्समार्फत पठाएको रकम झिक्न नागरिकताको प्रतिलिपि र फोटो आवश्यक पर्ने बहानामा सर्वसाधारणलाई झुक्याएर उनीहरूको कागजात दुरुपयोग गर्दै अनलाइन ठगी गर्दै आएको खुलेको जिल्ला प्रहरीले जनाएको छ।

    बुधबार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमार्फत प्रहरीले पक्राउ परेकाहरू सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका–१ घर भई धनुषाधाम नगरपालिका–९ धारापानी चौकमा मामा–भान्जा ट्रेडर्स (आइएमई) सञ्चालन गर्दै आएका विनोद भन्ने विशाल भुजेल, धनुषाधाम–९ स्थित दिपशिखा मोबाइल पसलका सञ्चालक ३७ वर्षीय सन्तोष मण्डल, धनौजी गाउँपालिका–२ का २५ वर्षीय साधु राम, सोही ठाउँ घर भई हाल जनकपुरधाम शिवचोकमा डेरा गरी बस्ने २२ वर्षीय बलराम मण्डल, २० वर्षीय रुपेश कुमार साह र १९ वर्षीय निक्की कुमार राम रहेका छन्।

    धनुषाका प्रहरी प्रमुख एसपी रुगम कुँवरका अनुसार आइएमई सञ्चालक भुजेलले धारापानी क्षेत्रका २९ जनाको कागजात प्रयोग गरी वालेट एकाउन्ट खोली सामान बेच्ने नाममा रकम लिएर ठगी गर्दै आएको प्रमाण फेला परेको छ। ती २९ वटा वालेटमार्फत करिब ३९ लाख २० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको र हाल पनि करिब ४ लाख रुपैयाँ ती वालेटहरूमा ब्लक अवस्थामा रहेको प्रहरीले जनाएको छ।

    प्रहरीले आरोपितहरूको साथबाट विभिन्न कम्पनीका मोबाइल १९ थान, ल्यापटप ४ थान, एप्पल आइप्याड १२ थान, ठगीमा प्रयोग भएका सिम कार्ड २० थान, सिम कार्डका सिरियल तथा नम्बर मात्र देखिने कभर ५५ थान र इन्टरनेट राउटर ३ थान बरामद गरेको छ।

    झुक्याएर नागरिकता र फोटो संकलन
    प्रहरी अनुसन्धानका क्रममा आइएमई सञ्चालक भुजेलले रेमिट्यान्स झिक्न आएका सेवाग्राहीसँग नागरिकताको प्रतिलिपि र फोटो अनिवार्य भन्दै वालेट एकाउन्ट बनाउने गरेको खुलेको छ। उक्त वालेट आईडी छिमेकी मोबाइल पसल सञ्चालक सन्तोष मण्डललाई प्रतिआईडी १५ सयदेखि २ हजार रुपैयाँसम्ममा दिने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

    त्यस्तै, मण्डलले मोबाइल पसलमा नयाँ सिम किन्न आएका ग्राहकलाई झुक्याएर आवश्यकभन्दा बढी सिम कार्ड दर्ता गरी ती सिम कार्ड वालेट खोल्न प्रयोगका लागि भुजेललाई उपलब्ध गराउने गरेको समेत प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend