२०८३ कार्तिक १५ गते शनिवार

images
  • समाचार
  • देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष चौलागाईंविरुद्ध सम्पत्ति...

देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष चौलागाईंविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २ अर्ब ६८ करोड बिगो माग

देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष चौलागाईंविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २ अर्ब ६८ करोड बिगो माग

सहर्ष न्युज
बुधवार, पौष २३ २०८२
सहर्ष न्युज
बुधवार, पौष २३ २०८२
  • काठमाडौं । ललितपुरको सातदोबाटोस्थित देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंसहित उच्च पदाधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दा दर्ता भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले जिल्ला अदालत ललितपुरमा गत साता मुद्दा दायर गरेको हो ।

    जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरका सहायक जिल्ला न्यायाधिवक्ता वसन्त अर्यालले सहकारीका अध्यक्ष चौलागाईं, उपाध्यक्ष तथा उनकी पत्नी पूजा खत्री, राजेन्द्र खत्री र मनोज भण्डारीलगायतलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेका हुन् ।

    बचतकर्ताहरूको उजुरीका आधारमा प्रहरी प्रधान कार्यालयअन्तर्गत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रारम्भिक अध्ययन गरी २०८० मंसिर १७ गते थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा फाइल पठाएको थियो । त्यसपछि विभागले विस्तृत अनुसन्धान गर्दा सहकारीको ठूलो रकम अपचलन भएको निष्कर्ष निकालेको हो ।

    अनुसन्धान अनुसार अध्यक्ष चौलागाईं, पूजा खत्री, राजेन्द्र खत्री, दीपक केसी र मनोज भण्डारीले सहकारीको मुख्य कार्यालय सातदोबाटो र शाखा कार्यालय न्युरोड तथा भक्तपुरको सूर्यविनायकबाट संकलित बचत रकम दुरुपयोग गरेका छन् । सहकारीको रकम प्रयोग गरी काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र झापालगायत जिल्लामा जग्गा खरिद गरिएको र विभिन्न कम्पनी स्थापना गरेर लगानी गरिएको विभागको निष्कर्ष छ ।

    सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम प्रतिवादीहरूविरुद्ध २ अर्ब ६८ करोड ५१ लाख १६ हजार ४ सय ३१ रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरेको छ । साथै कसुरबाट आर्जन गरेको घरजग्गा तथा अन्य सम्पत्ति जफत गर्न पनि अदालतसँग माग गरिएको छ ।

    अध्यक्ष चौलागाईं सहकारी संस्थाको अध्यक्ष र उनकी पत्नी पूजा खत्री उपाध्यक्ष पदमा रहँदा कसुर गरेको देखिएकाले उनीहरू दुवैको हकमा ऐनको दफा ३० बमोजिम थप सजाय माग गरिएको छ । अर्का प्रतिवादी मनोज भण्डारीको हकमा पनि ऐनअनुसार सजाय र सम्पत्ति जफतको माग गरिएको छ ।

    काभ्रे कात्तिके देउरालीका रवीन्द्र चौलागाईंले २०७१ सालमा देउराली बहुउद्देश्यीय सहकारी स्थापना गरेका थिए । सातदोबाटोमा मुख्य कार्यालय रहेको सहकारीले न्युरोड र भक्तपुरको सूर्यविनायकमा शाखा सञ्चालन गर्दै आएको थियो ।

    २०७९ सालसम्म सहकारीमा करिब २० हजार बचतकर्ताको ३ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन भएको थियो । तर निक्षेपकर्ताको रकम चौलागाईंले आफ्नै कम्पनीहरूमा सारेर जग्गामा लगानी गर्दा ठूलो रकम जोखिममा परेको अनुसन्धानबाट खुलेको छ ।

    चौलागाईंले आरआर ग्रुप अफ कम्पनी, श्री पूजा पोल्ट्री फार्म प्रालि, देउराली प्रोपर्टिज प्रालि, मुन भेन्चर इन्भेस्टमेन्ट प्रालि, आरआर रिसर्च एन्ड डेभलपमेन्ट प्रालि, पूजा मार्केटिङ प्रालि, पूजा ट्रेडिङ एन्ड मार्केटिङ कम्पनी प्रालि, श्री ब्रदर्स मार्केटिङ प्रालि र अन्नपूर्ण डिस्टिलरी प्रालि लगायतका कम्पनी स्थापना गरेको देखिएको छ ।

    अनुसन्धान अनुसार सहकारीबाट रकम निकालेर जग्गा खरिद गरिएको र ती जग्गा धितो राखी बैंकबाट मूल्यभन्दा दोब्बर–तेब्बरसम्म ऋण लिइएको छ । चौलागाईं र उनकी पत्नीका नाममा ललितपुरको लामाटारमा ८४ रोपनीसहित विभिन्न स्थानमा सयौं रोपनी जग्गा रहेको देखिएको छ ।

    यस प्रकरणलाई पछिल्लो समय सहकारी क्षेत्रकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दामध्ये एकका रूपमा हेरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend