२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • फिल्मी शैलीमा बैंक लुटियो, ३ करोड...

फिल्मी शैलीमा बैंक लुटियो, ३ करोड युरो बराबरको धनमाल चोरी

फिल्मी शैलीमा बैंक लुटियो, ३ करोड युरो बराबरको धनमाल चोरी

सहर्ष न्युज
बुधवार, पौष १६ २०८२
सहर्ष न्युज
बुधवार, पौष १६ २०८२
  • काठमाडौं । जर्मनीको पश्चिमी सहर गेल्सेनकिर्चेनमा रहेको स्पार्कासे बैंकमा हलिउड फिल्मको दृश्य झल्काउने गरी ठूलो परिमाणको चोरी भएको छ। बीबीसीका अनुसार क्रिसमसको छुट्टीको मौका छोपी अज्ञात समूहले बैंकको भूमिगत भल्टसम्म पुगेर करिब ३ करोड युरो बराबरको नगद, गरगहना र बहुमूल्य धातु लुटेर फरार भएको हो।

    प्रहरीका अनुसार चोरीमा संलग्न समूहले अत्याधुनिक र ठूलो औद्योगिक ड्रिल मेसिन प्रयोग गर्दै बैंकसँगै रहेको पार्किङ ग्यारेजबाट ड्रिल गरी भूमिगत सेफसम्म पुगेका थिए। त्यहाँ रहेका ३ हजारभन्दा बढी सेफ डिपोजिट बक्स तोडेर सामग्री चोरी गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

    यो घटना शनिबार रातिदेखि आइतबार बिहानसम्म भएको अनुमान गरिएको छ। क्रिसमसको छुट्टीका कारण बैंक वरपर मानिसको चहलपहल निकै कम भएकाले चोरी गर्न सजिलो भएको प्रहरीले जनाएको छ। औद्योगिक ड्रिल प्रयोग गरिएकाले ठूलो आवाज पनि नआएको बताइएको छ।

    प्रहरीका अनुसार चोरहरू पैसा लिएर कसैलाई थाहा नदिई गाडी चढेर फरार भएका थिए। सिसिटिभी फुटेजमा सोमबार बिहान डि–ला–चेभालरी–स्ट्रासेतर्फबाट कालो रंगको अडी आरएस–६ कार पार्किङ ग्यारेजबाट बाहिरिएको देखिएको छ। हालसम्म घटनामा संलग्न कसैलाई पनि पक्राउ गर्न सकिएको छैन।

    सोमबार बिहान सबेरै आगलागीको अलार्म बजेपछि मात्र चोरीको घटना बाहिर आएको थियो। त्यसपछि प्रहरी र दमकल टोलीले भवनको खोजतलास गर्दा पार्किङ ग्यारेजबाट बैंकको भूमिगत भल्टसम्म पुग्ने गरी बनाइएको प्वाल फेला पारेका थिए।

    स्थानीय बासिन्दाहरूले शनिबार रातिदेखि आइतबार बिहानसम्म पार्किङ ग्यारेजको सिँढीमा ठूला झोला बोकेका केही मानिस देखिएको बताएका छन्। प्रहरीका अनुसार यो चोरी हलिउड फिल्म ओसियन्स इलेभेन जस्तै योजनाबद्ध र पेशागत ढंगले गरिएको देखिन्छ।

    घटनापछि स्पार्कासे बैंकले प्रभावित ग्राहकलाई सम्पर्क गर्न आग्रह गरेको छ र विशेष हटलाइन सञ्चालनमा ल्याएको जनाएको छ। मंगलबार ठूलो संख्यामा ग्राहक जानकारी माग्दै शाखा बाहिर भेला भएपछि प्रहरीले बैंकको प्रवेशद्वार सुरक्षित गरेको थियो। बैंकले मंगलबार शाखा बन्द रहने जानकारी पनि वेबसाइटमार्फत दिएको छ।

    बैंकका अनुसार करिब ९५ प्रतिशत सेफ डिपोजिट बक्स तोडिएकाले धेरै ग्राहक प्रभावित हुने सम्भावना छ। प्रत्येक बक्सभित्रको सामग्री १० हजार ३ सय युरोसम्म बीमित रहेकाले थप क्षतिका लागि ग्राहकहरूले आफ्नो घर बीमामा अतिरिक्त कभरेज छ कि छैन जाँच गर्न बैंकले सुझाव दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend