काठमाडौं : अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा सडक सम्पर्क पूर्णरूपमा अवरुद्ध भएको छ। नेपाल प्रहरीले आज (शनिबार) बिहान १० बजे सार्वजनिक गरेको विवरण अनुसार देशभरका ५ स्थानमा सडक पूर्णरूपमा बन्द छन् भने ७ स्थानमा एकतर्फी मात्र सवारीसाधन सञ्चालन भइरहेका छन्।
प्रहरीका अनुसार सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिका–८ स्थित कोशी राजमार्ग अवरुद्ध भएको छ। यस्तै, रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा नेपाल–चीन जोड्ने पुल पूर्णरूपमा बन्द छ। सोही गाउँपालिकाको वडा नं २ र ३ मा पर्ने पासाङल्हामु राजमार्ग तथा उत्तरगया गाउँपालिका–५ स्थित गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु सडक खण्ड पनि पूर्णरूपमा बन्द भएका छन्।
त्यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ मा पर्ने जाजरकोट–डोल्पा भेरी कोरिडोर सडक खण्ड पनि बाढीका कारण पूर्णरूपमा अवरुद्ध भएको प्रहरीको भनाइ छ।
हाल प्रभावित स्थानहरूमा सडक खुलाउने प्रयास जारी रहेको र यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा सतर्क रहन प्रहरीले आग्रह गरेको छ।
