काठमाडौँ। काठमाडौं महानगरका मेयर बालेन साहका स्वकीय सचिव भूपदेव साह र कामु प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि हदैसम्मको कारबाही गर्न महानगरका स्थानीय कर्मचारी संगठनहरूले माग गरेका छन् ।
ती संगठनहरूले हिजो बिहीबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ११ बुँदे ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । ती संगठनहरूले आफ्नो मागको सुनुवाई नभए कडा संघर्षमा उत्रने चेतावनी पनि दिएका छन् । कर्मचारी संगठनहरूले महानगरीय प्रहरीबल र कामु प्रहरी प्रमुख पाण्डेको अगुवाइमा भएको कार्यालयको मर्यादा विपरीत अनुशासनहीन, गैरकानुनी र अनपेक्षित घटनाको बारेमा सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न ३ दिनभित्र अधिकार सम्पन्न छानबिन समिति बनाउन माग गरेका छन् ।
साथै पाण्डेलाई महानगरीय प्रहरी बल ऐनअनुसार निलम्बनमा राखी छानबिनलाई सहज बनाउन पनि माग गरेका छन् ।
गत चैत २१ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको पुनर्वहालीपछि साहले कर्मचारीलाई सार्वजनिक रूपमै धम्क्याउने काम गरेको भन्दै ५ कर्मचारी संगठनले कारबाहीको माग गरेका हुन् ।
स्वकीयसचिव साहसँगै कामु प्रहरी प्रमुख पाण्डेले आन्दोलनमा उत्रने सबै कर्मचारीलाई कारबाही गर्नेसम्मको धम्की दिएका थिए । मेयरका स्वकीयसचिव शाह र कामु प्रहरी प्रमुख पाण्डेले अति गर्न थालेपछि कर्मचारी संघ संगठनले ती दुईलाई तत्काल कारबाही गर्न प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ज्ञापनपत्र बुझाएका हुन् ।
प्रमुखको स्वकीयसचिवको नाममा सचिवालयका कर्मचारीले आचरणविपरीत अनधिकृत ढंगले सार्वजनिक सञ्चार माध्यममार्फत कामपा उपप्रमुख, वडाध्यक्षलगायतका सम्मानित व्यक्तिहरू समेतलाई लाञ्छित गर्ने प्रयास गरेको आरोप लगाउँदै ज्ञापनपत्रमा कानुनबमोजिम हदैसम्मको कारबाही गर्न माग गरिएको छ । ज्ञापनपत्रमा विभिन्न सञ्चारमाध्यम युट्युब एवं अन्य सामाजिक सञ्जालबाट उच्छृङ्खल, अवान्छित एवं उत्तेजित शब्द प्रयोग गरी समस्यालाई थप पेचिलो बनाएको आरोप पनि लगाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई महानगर प्रहरी प्रमुख पाण्डेको नेतृत्वमा कार्यालय छिर्न अवरोध गरिएको थियो । पाण्डेले प्रप्रअ गुरागाईं चढ्ने सवारी साधनको ह्विल लक गर्नुका साथै स्वकीयसचिव साहको निर्देशनमा प्रप्रअको कार्यकक्षमा ताला लगाउनुभएको थियो । चैत २१ गते उपमेयर, वडाध्यक्ष र कर्मचारीले कार्यालयको ढोका फोडेर प्रप्रअ गुरागाईंलाई कार्यालयमा प्रवेश गराएका थिए । त्यसपछि स्वकीयसचिव साहले त्यसै विषयलाई लिएर कर्मचारीहरूलाई धम्क्याएको दाबी विज्ञप्तिमा गरिएको छ ।
कारबाहीको माग गर्ने कर्मचारी संगठनहरूमा स्थानीय तह कर्मचारी युनियन नेपाल, स्थानीय तह कर्मचारी संघ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघ रहेका छन् ।
ज्ञापनपत्रमा फरक प्रसंगको बैठकमा वडाअध्यक्षहरूबाट व्यक्त विचारको भिडियो क्लिप काटी अनर्थ लाग्ने गरी मिडियामा सार्वजनिक गरेको घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र सीसीटिभीका फुटेजहरू कस्को जिम्मामा रहने हो स्पष्ट पार्नुपर्ने, ९ दिनअघि भएको घटनामा सहभागी भएका भनिएका कर्मचारी संगठनका पदाधिकारीलाई धम्की दिने काम बन्द गर्नुपर्ने, काठमाडौं टावर नक्सा पाससम्बन्धी पछिल्लो घटना र सोको सम्बन्धमा छानबिन गर्न गठित समिति, र सोको क्रियाकलाप एवं, कर्मचारीले बनाएको कथित राय प्रतिवेदन समेतको समग्र गतिविधिको छानबिन गर्न एक निष्पक्ष छानबिन समिति गठन गर्नुपर्ने माग राखेका छन् ।
स्थानीय तह कर्मचारी युनियन नेपालका अध्यक्ष नरबहादुर साउद, स्थानीय तह कर्मचारी संघ नेपालका महासचिव सम्भु बराल, महानगर कर्मचारी परिषद्का अध्यक्ष उत्तम घले, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष मचाबाबु मालाकार र नेपाल वातावरण तथा सफाई श्रमिक संघका अध्यक्ष रमिला पुजारीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा वातावरण व्यवस्थापन विभाग र सहरी विकास विभागमा अनधिकृत व्यक्तिको अवैध उपस्थिति रहेकोले तत्काल हटाउनुपर्ने, कार्यालयमा कार्यरत कर्मचारीलाई अनधिकृत व्यक्तिले धम्क्याउने, मौखिक आदेश दिने, नमान्ने कर्मचारी सरुवा गर्नेसम्मको धम्की दिने प्रवृत्ति अन्त्य गरी प्रप्रअलाई कानुनसम्मत काम गर्ने वातावरण बनाउनुपर्ने माग राखेका छन् । त्यस्तै तत्काल कर्मचारी सरुवा मापदण्ड बनाउनुपर्नेलगायतका माग राखिएको छ । मेयर साहले सचिवालयको नाममा विभागैपिच्छे एकजना हेरालु राखेको पनि कर्मचारी संगठनको आरोप छ ।
न्युज अफ नेपालबाट साभार
