२०८३ भाद्र २९ गते सोमवार

images
  • प्रमुख समाचार
  • क्यानडाका आगामी प्रधानमन्त्रीले गरे ट्रम्पविरुद्ध व्यापार...

क्यानडाका आगामी प्रधानमन्त्रीले गरे ट्रम्पविरुद्ध व्यापार युद्ध जित्ने वाचा

क्यानडाका आगामी प्रधानमन्त्रीले गरे ट्रम्पविरुद्ध व्यापार युद्ध जित्ने वाचा

सहर्ष न्युज
सोमवार, फाल्गुण २६ २०८१
सहर्ष न्युज
सोमवार, फाल्गुण २६ २०८१
  • काठमाडौं । क्यानडाको आगामी प्रधानमन्त्री बन्ने दौडमा जस्टिन ट्रुडोलाई विस्थापित गर्न सफल मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध व्यापार युद्ध जित्ने वाचा गरेका छन्।

    क्यानडा तथा यूकेका केन्द्रीय ब्याङ्कहरूका पूर्व गभर्नर रहिसकेका कार्नीले लिबरल पार्टीको नेतृत्वको दौडमा अन्य तीन प्रतिस्पर्धीलाई ठूलो मतान्तरले जितेका छन्।

    ट्रम्पविरुद्ध खनिए कार्नी

    जितपछि गरेको सम्बोधनमा ५९ वर्षीय कार्नीले ट्रम्पको आलोचना गरे। ट्रम्पले क्यानडामाथि आयात शुल्क वा ट्यारिफ लगाइदिएका छन् अनि क्यानडालाई अमेरिकाको '५१औँ राज्य' बनाइदिने भनेका छन्।

    "अमेरिकीहरूलाई हेक्का रहोस्, हक्कीमा जस्तै व्यापारमा पनि क्यानडाले जित्नेछ," उनले भने।

    आगामी केही दिनमा कार्नीले नयाँ प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने अपेक्षा गरिएको छ। उनकै नेतृत्वमा लिबरल पार्टी अर्को आम चुनावमा सामेल हुने छ। चुनावको मिति केही सातामै तोकिने ठानिएको छ।

    कार्नीले यसअघि निर्वाचित पद धारण गरेका छैनन्।

    झन्डै एक दशकसम्म सत्ताको नेतृत्व गरेका जस्टिन ट्रुडोले गत ज्यानुअरीमा राजीनामा गरेपछि उनको दलमा नयाँ नेतृत्वको दौड सुरु भएको थियो।

    आवास सङ्कट तथा बढ्दो महँगीका कारण अलोकप्रिय बन्दै गएका ट्रुडोलाई पद त्याग्न आन्तरिक दबाव परेको थियो।

    नयाँ आम चुनावको तयारी

    आइतवार साँझ भएको लिबरल पार्टीको आन्तरिक चुनावको पहिलो चरणको मतदानमा कार्नीले ८५.९% मत प्राप्त गरेर उनको निकटतम प्रतिद्वन्द्वी पूर्व अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डलाई पराजित गरेका थिए।

    उक्त मतदानमा डेढ लाख मतदाताले भाग लिएको उक्त पार्टीले बताएको छ।

    अब कार्नीले अल्पमतको सरकारको नेतृत्व गर्ने छन्। उनले या त आम चुनावको घोषणा आफैँ गर्ने छन् यता विपक्षी दलहरूले उनी विरुद्ध संसद्मा अविश्वासको प्रस्ताव ल्याएर नयाँ चुनाव घोषणा गर्न बाध्य पार्ने छन्।

    यो वर्षको सुरुमा लिबरल पार्टीलाई प्येर पोलिभको नेतृत्वको कन्जरभेटिभ पार्टीले २० अङ्कको फराकिलो अन्तरले जितिरहेको मत सर्वेक्षणहरूले देखाएका थिए।

    तर केही साता यता ट्रम्पले व्यापार युद्ध थालेपछि दुई दलबीचको अन्तर घटेर झन्डै बराबरीमा आइपुगेको कतिपय सर्वेक्षणहरूले देखाएका छन्।

    के भने कार्नीले ?

    कार्नीको सम्बोधनको अधिकांश हिस्सा क्यानडाको सबभन्दा ठूलो व्यापार साझेदार अमेरिकाले थोपरेको 'अनुचित ट्यारिफ'को विरोधमा केन्द्रित थियो।

    "(ट्रम्प)ले क्यानडाका श्रमिक, परिवार तथा व्यापारमाथि धावा बोलेका छन्। हामी उनलाई सफल हुन दिने छैनौँ," कार्नीले भने।

    "अमेरिकीहरूले हामीप्रति सम्मान नदेखाएसम्म" अमेरिकी आयातहरूमा पनि क्यानडाले ट्यारिफ लगाइरहने उनले चेतावनी दिए।

    "मलाई थाहा छ यी अँध्यारा दिनहरू हुन्। यी अँध्यारा दिन अब हामीले विश्वास गर्न नसक्ने देशले निम्त्याएको हो।"

    "हामी स्तब्ध त छौँ तर यसको पाठ नभुलौँ: हाम्रो हेरचाह हामी आफैँले गर्नुपर्छ। आगामी कठिन दिनहरूसँग जुझ्न एकताबद्ध हुनुपर्छ।"

    'अस्तित्व धान्ने चुनौती'

    कार्नीले देशको सिमाना सुरक्षित पार्ने वाचा पनि गरे। ट्रम्पले सिमाना सुरक्षालाई जोड दिने गरेका छन्।

    उनले विपक्षी कन्जरभेटिभ दलका नेता पोलिभको पनि आलोचना गरे।

    "पोलिभका योजनाले हामीलाई विभाजित पार्छ र अरूलाई जित्ने मौका दिन्छ। किनभने जसले डोनल्ड ट्रम्पलाई पुज्छ उसले ट्रम्पको अगाडि घुँडा टेक्छ," उनले भने।

    कार्नीको सम्बोधनअगाडि जस्टिन ट्रुडोले भावपूर्ण सम्बोधन गरेका थिए। ट्रुडोले ट्रम्पका कारण क्यानडाले 'अस्तित्व धान्ने चुनौती' बेहोरेको बताए।

    कन्जरभेटिभ दलहरूले चाहिँ कार्नीलाई 'जस्टिन जस्तै' भनेर आलोचना गर्दै आएका छन्।

    पोलिभको दलले कार्नीले लगानी कम्पनी ब्रुकफिल्ड एसेट म्यानेजमेन्टको मुख्यालय टोरन्टोबाट न्यूयोर्क सार्ने काममा उनको भूमिकाबारे झुठो बोलेको आरोप लगाउँदै आएको छ। कार्नीले चाहिँ उक्त निर्णय आफूले सो कम्पनीको बोर्ड त्यागिसकेपछि लिइएको भनेका थिए।

    केन्द्रीय ब्याङ्कका पूर्व गभर्नर कार्नीले खासगरी मध्यमार्गी एजेन्डा बोकेका छन्।

    उनले पाइपलाइन निर्माणजस्ता वृहत् ऊर्जा योजना अघि बढाउने, आवास तथा स्वच्छ ऊर्जामा लगानी बढाउने अनि क्यानडाभित्रै (प्रान्तहरू माझ) व्यापार उदारीकरण तीव्र पार्ने भनेका छन्। क्यानडाको व्यापारलाई विविधीकरण गर्ने पनि उनले बताएको समाचार बीबीसीले लेखेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend