२०८३ कार्तिक १५ गते शनिवार

images

झापाका ३५ वर्षीय अर्पण शर्मा गिनिज वर्ल्ड रेकर्डमा

झापाका ३५ वर्षीय अर्पण शर्मा गिनिज वर्ल्ड रेकर्डमा

सहर्ष न्युज
बुधवार, फाल्गुण १४ २०८१
सहर्ष न्युज
बुधवार, फाल्गुण १४ २०८१
  • झापा : झापाका ३५ वर्षीय अर्पण शर्माको नाम को नाम गिनिज वर्ल्ड रेकर्डमा नाम लेखिएको छ । संसारकै तेज स्मरणशक्ति भएको व्यक्तिका रूपमा उहाँको नाम लेखिएको हो । 

    उहाँले २०७२ असोज ९ गते एक मिनेटमा ४२ वटा वस्तु सम्झिएर तेज स्मरणशक्ति भएको प्रतिभाका रूपमा गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउनुभएको हो । उहाँले भारतका जयसिम्हा रभिरालाको कीर्तिमानलाई तोड्नुभएको थियो । रभिरालाले एक मिनेटमा ४० वस्तु सम्झिने कीर्तिमान राख्नुभएको थियो । अर्पणले २०७९ जेठ २० गते एक मिनेटमा ८३ वस्तुको क्रम स्मरण गरेर पनि आफ्नो क्षमता देखाउनुभएको छ । यो प्रमाण वल्र्ड बुक अफ रेकर्डमा सुरक्षित छ । अर्पणको विद्यालय तहदेखि नै तेज स्मरण शक्ति थियो । उहाँले स्मरण शक्तिका लागि दायाँ र बायाँ दिमाग एकसाथ चलाउने क्षमता आफूसँग भएको बताउनुभयो । दायाँ दिमागले पुस्तक पढ्दा उहाँ बायाँ दिमागले गीत गाउने क्षमता राख्नुहुन्छ । 

    अर्पणले कक्षा ७ मा पढ्दा गिनिज अफ वर्ल्ड रेकर्डको नाम सुन्नुभएको थियो । २०७० सालमा बिबिएस दोस्रो वर्षको परीक्षा तयारीमा साथीसँगको प्रतिस्पर्धाले उहाँलाई गिनिज बुकसम्म पुर्‍यायो । साथीले ३० वटा शब्द कसले चाँडो कण्ठ गर्न सक्छ भनेर प्रतिस्पर्धा सुरु गरेपछि अर्पणले एक मिनेटमै त्यति शब्द सुनाउनुभएको थियो । अर्पणले शब्द कण्ठ पारेको देखेर साथी छक्क पर्नुभयो । साथीले गिनिज वर्ल्ड रेकर्डमा नाम लेख्न सुझाव दिनुभयो । त्यसपछि गिनिज बुकका लागि अर्पणले निवेदन दिनुभयो । गिनिज बुकले सोका लागि अनुमति प्रदान गर्‍यो । उहाँले दमकको एउटा बन्द कोठामा राखिएका ४२ वटा वस्तु एक मिनेटमा याद गर्नुभएको थियो । यसरी याद गरेको भिडियो र फोटो गिनिज बुकको मुख्य कार्यालय लन्डनमा पठाउनुभयो । गिनिज बुकको समूहले १३ महिना लगाएर अध्ययन गर्‍यो र सर्वाधिक तेज स्मरणशक्ति भएको व्यक्तिका रूपमा उहाँको नाम समावेश गर्‍यो ।

    अर्पणले विद्यालयमा पढ्दादेखि नै हरेक दिन लामो समयसम्म योग र ध्यान गर्नुहुन्थ्यो । “योग र ध्यानबाट शरीरमा मात्र नभई दिमागमा पनि ऊर्जा प्राप्त हुन्छ” उहाँले भन्नुभयो । हाल उहाँले योग र ध्यानसँगै स्मरणशक्तिका विभिन्न तरिका सिकाउँदै आउनुभएको छ । उहाँले स्मरण शक्ति बढाउने सूत्र सिकाउनुहुन्छ। उहाँले सरकारी जागिरमा प्रवेश गर्न चाहनेको तयारी कक्षालाई पनि पढाउनुहुन्छ । अपर्ण २०४६ सालमा जन्मिनुभएको हो । उहाँका बुवाको नाम मोहन शर्मा कट्टेल र आमाको नाम खिना हो । 

    गिनिज वर्ल्ड रेकर्ड के हो ?

    गिनिज वर्ल्ड रेकर्ड अन्तर्राष्ट्रिय संस्था हो । यसको सुरुवात सन् १९५५ अगस्त २७ मा बेलायतको लन्डनबाट भएको हो । यसले विश्वभर फरक प्रतिभा भएका व्यक्तिको कीर्तिमानको विवरण (रेकर्ड) राख्ने र प्रमाणपत्र दिने काम गर्छ । यसले संसारका धेरै प्रकारका रेकर्डलाई समेट्छ । छोटो समय, लामो समय, सबैभन्दा ठुलो, सबैभन्दा सानो, सबैभन्दा छिटो, अत्यधिक मानवीय क्षमता जस्ता विभिन्न श्रेणीका रेकर्ड समेटिएका छन् । यसले मांसपेशीको क्षमता, पृथ्वीका अनौठा प्राणीको आकार, विश्वका सबैभन्दा महत्वपूर्ण खेलकुद र उत्पादनको रेकर्डलाई समेत राख्ने गरेको छ । गिनिज वर्ल्ड रेकर्डमा धेरै नेपालीले नाम लेखाएका छन् । पर्यटन, खेलकुद, अन्तर्वार्ता, हिमाल आरोहण, फिल्म निर्देशन, योगाशन, फोटोग्राफीलगायत विभिन्न विधामा रेकर्ड बनेका छन् ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend