काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई बोलाएको छ। उनी काठमाडौँ बाहिर धार्मिक यात्रामा थिए। प्रहरीले फोन गरेर उनलाई ब्युरोमा आउन भनेको हो।
शिवाकोटीले आफू ब्युरोमा जाने बताएका छन्। उनले बालेन सरकारले डर देखाएर सत्ता चलाउन खोजिरहेको आरोप लगाएका छन्। आफू काठमाडौँ फर्कदै गरेको र प्रहरी पठाएर खोज्नु नपर्ने पनि उनले भनेका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका थिए, "सरकारको डर र भ्रमले म विचलित हुन्न, काठमाडौँ आउँदैछु।"
ब्युरो स्रोतका अनुसार पत्रकार रोशन खड्काले उजुरी दिएका कारण शिवाकोटीलाई बोलाइएको हो। शिवाकोटीले केही दिनदेखि सामाजिक सञ्जालमा सरकारले नियम कानुन मिचेर कांग्रेसलाई अनावश्यक विवादमा तानेको भन्दै प्रतिक्रिया दिँदै आएका छन्। उनले प्रतिपक्षले उठाएका प्रश्नको सरकारले जिम्मेवार ढंगले जवाफ दिनुपर्ने पनि लेखेका थिए। साथै, बिचौलिया भनिएका र प्रहरी हिरासतमा रहेका इनम सापकोटाले प्रहरीलाई दिएको भनिएको बयानको अडियो रेकर्डबारे पनि उनले प्रतिक्रिया दिएका थिए।
