काठमाडौं । काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलमा हालै पदोन्नति भएका तीन जना अधिकृतलाई बुधबार दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
नगर प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका शिवलाल पौडेल र पूर्णचन्द्र भट्ट तथा नगर प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति हुनुभएका रामेश्वर उपाध्यायलाई काठमाडौँ प्लाजामा आयोजित विशेष कार्यक्रममा दर्ज्यानी चिन्ह सुशोभन गरिएको हो।
कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल तथा सुशासन समितिका संयोजक ख्यामराज तिवारीको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र नगर प्रहरी बलका प्रमुख वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो।
महानगरपालिकाले नगर प्रहरी बलको नेतृत्व क्षमता, कार्यसम्पादन र सेवाप्रतिको जिम्मेवारीलाई थप प्रभावकारी बनाउने उद्देश्यले पदोन्नति तथा दर्ज्यानी चिन्ह प्रदान गरिएको जनाएको छ।
