२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • टेरामक्स खरिद प्रकरणमा तत्कालीन अध्यक्ष दीगम्बर...

टेरामक्स खरिद प्रकरणमा तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जना दोषी, मोहन बस्नेतसहित १७ जनाले पाए सफाइ

टेरामक्स खरिद प्रकरणमा तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जना दोषी, मोहन बस्नेतसहित १७ जनाले पाए सफाइ

सहर्ष न्युज
मंगलवार, आषाढ २३ २०८३
सहर्ष न्युज
मंगलवार, आषाढ २३ २०८३
  • काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा विशेष अदालतले प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जनालाई दोषी ठहर गरेको छ भने पूर्वसञ्चारमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतसहित १७ जनालाई सफाइ दिएको छ।

    न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मंगलबार तत्कालीन अध्यक्ष दीगम्बर झा, प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको हो।

    अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार दोषी ठहर भएका ज्ञवाली र उप्रेतीलाई ६/६ महिना कैद तथा जनही ५० हजार रुपैयाँ जरिबाना तोकिएको छ। तत्कालीन अध्यक्ष झालाई भने थप ६ महिना कैद सजायसहित कुल एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिबाना हुने फैसला भएको छ।

    यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। तीमध्ये तीन जना दोषी ठहर भएका छन् भने बाँकी १७ जनाले सफाइ पाएका छन्।

    सफाइ पाउनेहरूमा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत, नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, निर्देशकहरू दीपेश आचार्य, अच्युतानन्द मिश्र र सुरेन्द्रलाल हाडा रहेका छन्।

    यस्तै, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी र सन्दीप आचार्य तथा प्राधिकरणका कर्मचारी विजयकुमार रायले पनि आरोपबाट सफाइ पाएका छन्।

    अदालतले टेरामक्स प्रणालीका आपूर्तिकर्ता भ्यानराइस एसएएल (अफ्सोर), कम्पनीका प्रमुख कार्यकारी अधिकृत जमल अनोटी, स्थानीय एजेन्ट ट्रेडलिङ्क प्रालि तथा कम्पनीका अध्यक्ष दिलीपकुमार गुरुङलाई समेत सफाइ दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend