२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको...

डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु, ऊर्जा विकासमा नयाँ कोशेढुङ्गा

डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु, ऊर्जा विकासमा नयाँ कोशेढुङ्गा

सहर्ष न्युज
शुक्रवार, आषाढ १९ २०८३
सहर्ष न्युज
शुक्रवार, आषाढ १९ २०८३
  • डोल्पा : डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका–४ स्थित इलामा आयोजित विशेष समारोहबीच सुरुङ निर्माणको शुभारम्भ गरेका हुन्।

    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले संघीय, प्रदेश र स्थानीय तहको संयुक्त स्वामित्व तथा लगानीमा अघि बढिरहेको यो आयोजना कर्णाली प्रदेशको ऊर्जा उत्पादन, आर्थिक विकास र समग्र समृद्धिका लागि महत्वपूर्ण उपलब्धि हुने विश्वास व्यक्त गरे।

    ऊर्जा सचिव सरिता कुमारी दवाडीले आयोजना निर्धारित समयभित्र सम्पन्न गर्न सम्बन्धित सबै निकायबाट आवश्यक समन्वय र सहजीकरण अपरिहार्य रहेको बताइन्।

    जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाका अनुसार ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत निर्माण भइरहेको आयोजनाको मुख्य भौतिक निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। कम्पनीले १२४.३५ मेगावाट क्षमताको जगदुल्ला–ए जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन पनि सम्पन्न गरिसकेको जनाएको छ।

    आयोजनाले विद्युत् उत्पादनसँगै डोल्पाको भौतिक पूर्वाधार विकासमा पनि उल्लेखनीय योगदान पुर्‍याएको छ। कम्पनीले आफ्नै लगानीमा भेरी नदीमाथि १०० मिटर लामो पक्की पुल, पहुँच मार्ग तथा १० वटा बेली पुल निर्माण गरिसकेको छ। यससँगै नेपालगञ्जबाट डोल्पा पुग्न लाग्ने तीन दिनको यात्रा अहिले एकै दिनमा सम्भव भएको कम्पनीले जनाएको छ।

    आयोजनाका लागि करिब १६ अर्ब ६६ करोड रुपैयाँ ऋण लगानी नबिल बैंक, कर्मचारी सञ्चय कोष, एचआईडीसीएल लगायतका स्वदेशी बैंक तथा वित्तीय संस्थाको सहलगानीबाट जुटाइएको छ।

    आयोजनाको सेयर संरचनाअनुसार ५१ प्रतिशत स्वामित्व सरकारी पक्षको रहनेछ भने ४९ प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको छ। यसमध्ये स्थानीय बासिन्दाका लागि १० प्रतिशत र प्रसारण लाइनको ‘राइट अफ वे’ भित्र पर्ने जग्गाधनीका लागि थप ३ प्रतिशत सेयर सुरक्षित गरिएको छ।

    आयोजना सञ्चालनमा आएपछि संघीय सरकारले वार्षिक करिब १९ करोड ५० लाख रुपैयाँ रोयल्टी प्राप्त गर्ने अनुमान गरिएको छ। त्यसैगरी कर्णाली प्रदेश सरकार र सम्बन्धित स्थानीय तहले वार्षिक करिब ९ करोड ५० लाख रुपैयाँका दरले रोयल्टी प्राप्त गर्ने अपेक्षा गरिएको छ।

    जगदुल्ला जलविद्युत् आयोजना सञ्चालनमा आएपछि ऊर्जा उत्पादनसँगै डोल्पाको आर्थिक गतिविधि, रोजगारी, पूर्वाधार विकास तथा रारा, शे–फोक्सुण्डो र जगदुल्ला ताल क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत दीर्घकालीन सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend