२०८३ भाद्र २८ गते आइतवार

images

मनसुन फैलिँदै, कोशीमा भारी वर्षाको चेतावनी

मनसुन फैलिँदै, कोशीमा भारी वर्षाको चेतावनी

सहर्ष न्युज
शनिवार, आषाढ १३ २०८३
सहर्ष न्युज
शनिवार, आषाढ १३ २०८३
  • काठमाडौँ। हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसुन वायुको प्रभाव रहेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा आगामी चारदेखि पाँच दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ ।

    हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

    महाशाखाले शनिबार दिउँसो मुलुकका हिमाली तथा पहाडी क्षेत्रका साथै मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बादल लाग्ने बताएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

    कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका केही, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

    महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

    यसैगरी, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने पूर्वानुमान छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

    कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना  छ ।

    साथै, महाशाखाले कोशी प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले त्यसबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन महाशाखाले आग्रह गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend